काठमाडौं– तिहारको सबैभन्दा बढी विद्युत् खपत हुने दिन लक्ष्मीपूजालाई लक्षित गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति व्यवस्थापनको तयारी तीव्र पारेको छ। आज साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गर्दै प्राधिकरणले उपभोक्तालाई निरन्तर र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन विशेष कार्ययोजना अघि सारेको हो।
प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको माग आन्तरिक उत्पादनबाटै सहज रूपमा धान्न सकिने जनाएको छ। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार लक्ष्मीपूजाको समयमा प्रणालीमा करिब २ हजार ५०० मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ।
अनुमानित मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्तिमा समस्या नआउने प्राधिकरणको विश्वास छ। उत्पादन र मागबीच पर्याप्त अन्तर रहेकाले आन्तरिक स्रोतबाटै विद्युत् व्यवस्थापन गर्न सकिने कार्यकारी निर्देशक श्रेष्ठले स्पष्ट पारेका छन्।
२४ घण्टा प्राविधिक टोली परिचालन:
लक्ष्मीपूजाको समयमा विद्युत् माग उच्च हुने भएकाले सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न प्राधिकरणले प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा परिचालन गर्ने व्यवस्था मिलाएको छ।
उत्पादन गृहदेखि प्रसारण लाइन र वितरण प्रणालीसम्मको अवस्था नियमित निगरानीमा राखिएको प्राधिकरणले जनाएको छ। कुनै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएमा तत्काल मर्मतसम्भार गरी सेवा पुनः सञ्चालन गर्न प्राविधिक टोली तयारी अवस्थामा राखिएको छ।
यसका साथै विद्युत् प्रणालीमा समस्या आउन नदिन प्रसारण लाइन तथा वितरण संरचनाको निरीक्षण र मर्मतसम्भारलाई तीव्रता दिइएको छ। बाँकी रहेका मर्मतसम्भारका काम तत्काल सम्पन्न गर्न सम्बन्धित कार्यालयलाई निर्देशनसमेत दिइएको छ।
कमान्ड सेन्टरबाटै आपूर्तिको निगरानी:
विद्युत् आपूर्तिलाई व्यवस्थित बनाउन प्राधिकरणले उच्चस्तरीय अनुगमन र समन्वयलाई प्राथमिकतामा राखेको छ।
कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेर लक्ष्मीपूजाका दिन आउन सक्ने सम्भावित चुनौती र त्यसको समाधानबारे छलफल गरिएको छ।
त्यस्तै, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा प्रादेशिक कार्यालयका प्रमुखहरूसँग भर्चुअल बैठक गरी जनशक्ति परिचालन, विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको निगरानीलाई प्रभावकारी बनाउने विषयमा समन्वय गरिएको छ।
आज साँझ ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र कार्यकारी निर्देशक श्रेष्ठ स्वयं केन्द्रीय कमान्ड सेन्टरमा उपस्थित भएर विद्युत् माग तथा आपूर्तिको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने तयारी गरिएको छ।
गुनासो व्यवस्थापनलाई पनि प्राथमिकता:
प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध भएको अवस्थामा उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवाको व्यवस्थापनलाई प्रभावकारी बनाउने जनाएको छ।
गुनासो सुनुवाइका लागि प्राप्त हुने फोन नियमित रूपमा उठाउन र समस्या समाधानमा ढिलाइ नगर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ।
पर्व अवधिभर एलडीसी, ग्रिड तथा वितरण केन्द्रहरूबीच निरन्तर समन्वय कायम गरी विद्युत्को माग र आपूर्तिको अवस्थाको नियमित अनुगमन गरिने प्राधिकरणले जनाएको छ।
सुरक्षित विद्युत् प्रयोग गर्न उपभोक्तालाई आग्रह:
विद्युत् आपूर्ति व्यवस्थापनसँगै प्राधिकरणले तिहारमा विद्युतीय सामग्रीको सुरक्षित प्रयोग गर्न उपभोक्तालाई सचेत गराएको छ।
घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारहरूको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिएमा आफैँ मर्मत गर्ने जोखिम नलिन प्राधिकरणले आग्रह गरेको छ।
विद्युतीय समस्या देखिएमा दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन तथा आपूर्तिसम्बन्धी गुनासो भएमा नजिकैको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
लक्ष्मीपूजाको दिन देशभर घर, मठमन्दिर तथा सार्वजनिक स्थानमा दीपावली र झिलिमिली बत्ती बालिने भएकाले विद्युत् खपत सामान्य दिनको तुलनामा बढ्ने गर्छ। यही अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणले उत्पादन, प्रसारण र वितरण प्रणालीलाई चुस्त राखेर पर्वभर विद्युत् आपूर्ति सहज बनाउने तयारी गरेको हो।