काठमाडौँः यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर भाइटीका पर्व मनाउँदै छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई यमद्वितीया पनि भनिन्छ।
यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ। टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने र गच्छेअनुसार उपहार तथा दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा छ।
भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेहरूका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अध्यक्ष सहप्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईका अनुसार सर्वसाधारणले आज दिनभर जुनसुकै समयमा पनि टीका लगाउन सक्नेछन्। तर राज्य सञ्चालकहरूले भने शास्त्रीय मान्यताअनुसार निर्धारित शुभ साइतमै टीका लगाउनुपर्ने हुन्छ।
भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, प्रेम, सद्भाव र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।