धनगढीः भाइटीकाको दिन यात्रुको सहजताका लागि धनगढी र अत्तरिया क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको समन्वयमा र नवजीवन अस्पताल प्रालि धनगढीले यही कात्तिक २५ गते भाइटीकाका दिन निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो।
सेवाअन्तर्गत धनगढीको डोकेबजारदेखि अत्तरिया र अत्तरियादेखि डोकेबजारसम्म दुवैतर्फ बस सञ्चालन हुने जनाइएको छ।
निर्धारित समयतालिकाअनुसार बिहान ६ः३० बजे डोकेबजारबाट अत्तरियाका लागि पहिलो बस छुट्नेछ। त्यसपछि बिहान ८ बजे अत्तरियाबाट डोकेबजार, ८ः३० बजे डोकेबजारबाट अत्तरिया र १० बजे अत्तरियाबाट डोकेबजारका लागि बस छुट्नेछ।
त्यस्तै, दिउँसो १२ः३० बजे डोकेबजारबाट अत्तरिया र दिउँसो १ बजे अत्तरियाबाट डोकेबजारका लागि बस सञ्चालन हुने व्यवस्था मिलाइएको छ।
भाइटीकाका दिन आवतजावत गर्ने सर्वसाधारणलाई सहजता प्रदान गर्ने उद्देश्यले निःशुल्क यातायात सेवा सञ्चालन गर्न लागिएको हो।
बस सेवासम्बन्धी थप जानकारीका लागि ९८४८४५०४६६ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।