धनगढीः सूर्यदेव र छठी माताको पूजा–आराधना गरी मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वको पहिलो दिन आज व्रतालुहरूले नहाय–खाय विधि गर्दैछन्।
छठ पर्वको पहिलो दिन व्रतालुहरूले स्नान गरी चोखो र शुद्ध भोजन ग्रहण गर्ने परम्परा छ। यस दिन व्रतालुहरूले घर तथा पूजास्थलको सरसफाइ गरी सात्त्विक भोजन तयार गरेर खाने गर्छन्। विशेषगरी अरवा चामल, चनाको दाल र लौकाको तरकारी खाने चलन छ।
पर्वको दोस्रो दिन भोलि पञ्चमीका दिन खरना विधि गरिन्छ। यस दिन व्रतालुहरूले दिनभरि निराहार व्रत बसेर साँझ छठी मातालाई खीर, रोटी तथा अन्य प्रसाद चढाई पूजा गर्छन्। पूजापछि प्रसाद ग्रहण गरेर उनीहरू कठोर निर्जला व्रतमा बस्ने गर्छन्।
पर्वको तेस्रो दिन षष्ठीका दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन्। यसका लागि नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा विशेष रूपमा घाट सजाएर पूजा गर्ने गरिन्छ। चौथो तथा अन्तिम दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ।
छठ पर्वमा बाँसका ढाकी, नाङ्लो तथा अन्य सामग्रीमा ठकुवा, भुसुवा, फलफूल, उखु, नरिवललगायतका प्रसाद सजाएर सूर्यदेवलाई अर्पण गर्ने परम्परा छ।
विशेषगरी तराई–मधेस क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय पहाडी तथा हिमाली जिल्लामा समेत लोकप्रिय बन्दै गएको छ। यस पर्वले धार्मिक आस्था, पारिवारिक एकता, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मानलाई जोड्ने विश्वास गरिन्छ।
सूर्यलाई ऊर्जा, प्रकाश र जीवनको स्रोतका रूपमा पूजा गरिने छठ पर्वमा व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दै सूर्यदेव र छठी माताको आराधना गर्ने गर्छन्।