काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शुक्रबार पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेल महत्त्वपूर्ण मानिएका छन्।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। अंक तालिकामा दोस्रो स्थानमा रहेको काठमाडौंले अहिलेसम्म पाँच खेल खेलेको छ। उसले चार खेलमा जित र एक खेलमा हार बेहोरेको छ।
यस्तै, सुदूरपश्चिम रोयल्स अंक तालिकाको तेस्रो स्थानमा छ। छ खेल खेलेको सुदूरपश्चिमले चार खेलमा जित र दुई खेलमा हार बेहोरेको छ। दुवै टोली समान चार जितसहित मैदान उत्रने भएकाले आजको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन्।
अंक तालिकाको पाँचौँ स्थानमा रहेको चितवनले पाँच खेल खेलेको छ। उसले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ। वर्षाका कारण एक खेल रद्द भएपछि चितवनले त्यसबाट एक अंक प्राप्त गरेको छ।
यता जनकपुर बोल्ट्स अंक तालिकाको छैटौँ स्थानमा छ। छ खेल खेलेको जनकपुरले दुई खेलमा जित र चार खेलमा हार बेहोरेको छ।
आजका दुवै खेल जित्दै आफ्नो अंकतालिकाको अवस्था सुधार गर्ने लक्ष्यमा टोलीहरू रहनेछन्।