कृषि रूपान्तरणमा अन्तर्राष्ट्रिय साझेदारी विस्तारको तयारी, एफएओसँग सहकार्यलाई नयाँ गति - Chaitanya News
  • 2026-07-22
  • 21:10:30
  • बुधबार,साउन ०६, २०८३
  • कृषि रूपान्तरणमा अन्तर्राष्ट्रिय साझेदारी विस्तारको तयारी, एफएओसँग सहकार्यलाई नयाँ गति

    कृषि रूपान्तरणमा अन्तर्राष्ट्रिय साझेदारी विस्तारको तयारी, एफएओसँग सहकार्यलाई नयाँ गति

    काठमाडौँ– नेपालले कृषि क्षेत्रको आधुनिकीकरण, खाद्य सुरक्षा सुदृढीकरण र दिगो कृषि प्रणाली विकासका लागि संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)सँगको सहकार्यलाई थप विस्तार गर्ने तयारी गरेको छ।

    मंगलबार कृषि, वन तथा वातावरण मन्त्रालयमा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र एफएओकी दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाकी निर्देशक एवं महानिर्देशक कार्यालयकी क्याबिनेट उपनिर्देशक हुआ याङबीच भएको भेटवार्तामा कृषि रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल भएको मन्त्रालयले जनाएको छ।

    छलफलमा नेपालमा खाद्य सुरक्षाको अवस्था सुधार गर्दै कृषि उत्पादन प्रणालीलाई आधुनिक, दिगो र जलवायु परिवर्तनअनुकूल बनाउने विषयमा विशेष जोड दिइएको थियो। साथै दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहकार्यमार्फत कृषि क्षेत्रमा प्रविधि, ज्ञान र अनुभव आदानप्रदानका सम्भावनाबारे पनि विचार विमर्श भएको थियो।

    भेटका क्रममा मन्त्री चौधरीले कृषि क्षेत्रको दीर्घकालीन विकास, खाद्य सुरक्षाको सुनिश्चितता तथा अन्तर्राष्ट्रिय लगानी र प्राविधिक सहयोग परिचालनका लागि एफएओसँगको साझेदारीलाई अझ सशक्त बनाउन नेपाल प्रतिबद्ध रहेको बताइन्।

    दुवै पक्षबीच सीमापार फैलिने पशुरोग नियन्त्रण, जलवायु परिवर्तनसँग अनुकूल कृषि प्रविधिको विकास, कृषि अनुसन्धान तथा प्रयोगशालाको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।

    यसैगरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार कृषि प्रयोगशाला स्थापना, उच्च मूल्यका कृषि उत्पादनको निर्यात प्रवर्द्धन तथा भौगोलिक संकेत (जीआई) सम्बन्धी कानुनी र संस्थागत संरचना सुदृढ बनाउने विषयमा समेत दुवै पक्षबीच सकारात्मक संवाद भएको मन्त्रालयले जनाएको छ।

    एफएओकी उपनिर्देशक हुआ याङले दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाको नेतृत्व सम्हालेपछि नेपालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले कृषि विज्ञान, अनुसन्धान र नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपालको सहभागिता बढाउन एफएओले आवश्यक सहयोग गर्ने बताउँदै रोमस्थित एफएओ मुख्यालयमा आयोजना हुने कार्यक्रमहरूमा नेपाललाई सहभागी हुन निमन्त्रणा दिइन्।

    भेटवार्ताको निष्कर्षस्वरूप नेपाल सरकार र एफएओबीच समावेशी, दिगो तथा जोखिम सामना गर्न सक्षम कृषि तथा खाद्य प्रणाली विकासका लागि साझेदारीलाई थप सुदृढ बनाउने सहमति भएको मन्त्रालयले जनाएको छ।