तयारी पोसाक उद्योगलाई पुनर्जीवन दिने सरकारी तयारी, निर्यात विस्तारमा अवरोध हटाउने प्रतिबद्धता - Chaitanya News
  • 2026-07-22
  • 22:22:13
  • बुधबार,साउन ०६, २०८३
  • तयारी पोसाक उद्योगलाई पुनर्जीवन दिने सरकारी तयारी, निर्यात विस्तारमा अवरोध हटाउने प्रतिबद्धता

    तयारी पोसाक उद्योगलाई पुनर्जीवन दिने सरकारी तयारी, निर्यात विस्तारमा अवरोध हटाउने प्रतिबद्धता

    काठमाडौँ– सरकारले लामो समयदेखि संकटमा रहेको नेपाली तयारी पोसाक उद्योगलाई पुनर्जीवित गर्दै उत्पादन वृद्धि, निर्यात विस्तार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने भएको छ। यसका लागि उद्योग क्षेत्रले उठाउँदै आएका नीतिगत तथा प्रशासनिक समस्याको समाधान गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा आवश्यक पहल गरिने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बताएका छन्।

    मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगलाई पुनः सशक्त बनाउने सरकारको प्रतिबद्धता व्यक्त गरेका हुन्।

    छलफलमा उद्योगको वर्तमान अवस्था, उत्पादनमा आएको गिरावट, निर्यातमा देखिएका अवरोध तथा उद्योग पुनरुत्थानका सम्भावनाबारे विस्तृत छलफल भएको नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले जानकारी दिए। उनका अनुसार सन् २००५ अघिको जस्तै तयारी पोसाक उद्योगको योगदान पुनः स्थापित गर्ने विषयमा सरकार सकारात्मक देखिएको छ।

    प्रधानमन्त्री शाहले उद्योगसँग सम्बन्धित विभिन्न मन्त्रालय तथा सरकारी निकायमा लामो समयदेखि अड्किएका विषयलाई प्राथमिकताका साथ टुंग्याउन सम्बन्धित निकायलाई आवश्यक समन्वय र निर्णय प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

    सरकारले बन्द अवस्थामा रहेका तयारी पोसाक उद्योगलाई पुनः सञ्चालनमा ल्याउने, स्वदेशी उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्ने तथा नेपाली तयारी पोसाकको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्यसहित आवश्यक नीतिगत सुधार अघि बढाउने तयारी गरेको जनाइएको छ।

    यसैक्रममा कपडा तथा तयारी पोसाक उद्योगको संस्थागत विकासका लागि टेक्स्टाइल काउन्सिल गठन गर्ने विषयमा पनि प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरेका छन्। सरकारका अनुसार यसले उद्योगको नीति निर्माण, समन्वय र दीर्घकालीन विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    छलफलमा नेपाली तयारी पोसाकको अमेरिकी बजारमा निर्यात गर्दा प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) सम्बन्धी देखिएको समस्यालाई समाधान गर्न परराष्ट्र मन्त्रालयमार्फत आवश्यक कूटनीतिक पहल गर्न प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएको संघले जनाएको छ।

    सरकारले तयारी पोसाक उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्दै उत्पादन, रोजगारी र निर्यात वृद्धि गर्ने रणनीतिअनुसार निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ।