चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 6 of 1099
  • 2026-10-04
  • 08:18:50
  • आइतबार,आश्विन १८, २०८३

About Author

पुँजी बजारमा बढ्दो सहभागिता, ८० लाखभन्दा बढी पुगे डिम्याट खाता

काठमाडौँ– नेपालको पुँजी बजारमा लगानीकर्ताको सहभागिता निरन्तर विस्तार भइरहेको देखिएको छ। नेपाल धितोपत्र बोर्डका अनुसार देशभर डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९५ हजार पुगेको छ। बुधबार संघीय संसद्को अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्रस्तुत गरेको तथ्यांकअनुसार असोज १३ गतेसम्म ५१ लाख २२ हजारभन्दा बढी ‘मेरो सेयर’ खाता सक्रिय छन्। त्यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्म कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजार नाघेको छ। बोर्डका अनुसार प्राथमिक बजारमा साधारण सेयरको हिस्सा सबैभन्दा बढी ४६.२६ प्रतिशत रहेको छ। संस्थागत ऋणपत्रको हिस्सा ३१.०३ प्रतिशत, सामूहिक लगानी कोषको १४.८१ प्रतिशत, विशिष्टीकृत लगानी कोषको ५.१७ प्रतिशत र अग्राधिकार सेयरको हिस्सा २.१७ प्रतिशत छ। गत आर्थिक वर्ष २०८२/८३ मा बोर्डले ५२ संस्थालाई ७९ अर्ब ७३ करोड रुपैयाँ बराबरको पुँजी परिचालनका लागि स्वीकृति दिएको थियो। चालु आर्थिक वर्षको असोज मसान्तसम्म चार संस्थालाई ४ अर्ब ६० करोड रुपैयाँ बराबरको पुँजी परिचालनका लागि अनुमति दिइएको छ। त्यस्तै, हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड रुपैयाँ बराबरको पुँजी परिचालनको स्वीकृति दिइएको बोर्डले जनाएको छ। दोस्रो बजारतर्फ असोज १३ गते नेप्से परिसूचक २६०३.७१ बिन्दुमा रहेको छ। सोही अवधिमा कुल बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। पुँजी बजारबाट राज्यको राजस्वमा समेत उल्लेख्य योगदान हुँदै आएको छ। आर्थिक वर्ष २०८२/८३ मा धितोपत्र बजारबाट १५ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो भने चालु आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब ५४ करोड रुपैयाँ राजस्व प्राप्त भएको बोर्ड अध्यक्ष भट्टले बताए।

News by पुँजी बजारमा बढ्दो सहभागिता, ८० लाखभन्दा बढी पुगे डिम्याट खाता :