काठमाडौँ — पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न प्रदेशको मौसममा बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ। लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा पनि आंशिक बदली रहेको छ। तराईका केही स्थानमा तुवाँलो लागेको भए पनि अन्य भूभागको मौसम सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। यस अवधिमा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, आज राति पनि केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्नेछ। कोशी, मधेस र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ। अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले तराईका विभिन्न स्थानसँगै उपत्यका र खोँचहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्न सक्ने जनाएको छ।