नापी विभागको महानिर्देशकमा जनकराज जोशी - Chaitanya News
  • 2026-11-17
  • 16:21:30
  • मंगलबार,मंसिर ०२, २०८३
  • नापी विभागको महानिर्देशकमा जनकराज जोशी

    नापी विभागको महानिर्देशकमा जनकराज जोशी

    काठमाडौँः भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशी नापी विभागको महानिर्देशकमा सरुवा भएका छन्। विभागको नेतृत्व गर्ने जिम्मेवारीसहितको पत्र उनले प्राप्त गरेका छन्।

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई पुनः नापी विभागको नेतृत्वमा ल्याएको हो। विभागकी वर्तमान महानिर्देशक करुणा केसीलाई भने भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा सरुवा गरिएको छ।

    यसअघि पनि महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका जोशी कर्मचारी सरुवासम्बन्धी विवाद, त्यसबारे परेका उजुरीको छानबिन र नयाँ मापदण्ड कार्यान्वयन गर्नुपर्ने अवस्थामा विभाग फर्किएका हुन्।

    तत्कालीन महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा ८५७ कर्मचारीको सरुवा भएपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि मन्त्रालयले प्रकाश जोशीलाई अतिरिक्त समूहमा सरुवा गर्दै असोज २६ गते उपमहानिर्देशक करुणा केसीलाई महानिर्देशकको जिम्मेवारी दिएको थियो।

    जिम्मेवारी सम्हालेकै दिन केसीले सरुवाप्रति असन्तुष्ट कर्मचारीसँग तथ्य, आधार र प्रमाणसहित गुनासो मागेकी थिइन्। उनले सयभन्दा बढी गुनासो प्राप्त भएको र अध्ययन गरी समस्या सम्बोधन गर्ने बताएकी थिइन्।

    विभागले असोज २४ गते १०३ नापी अधिकृत, ४९८ सर्भेक्षक र २५६ अमिन गरी ८५७ कर्मचारीको सरुवा विवरण सार्वजनिक गरेको थियो। दुर्गममा लामो समय काम गरेका कर्मचारीले अवसर नपाएको, केही कर्मचारीलाई पटकपटक अनुकूल कार्यालयमा खटाइएको र समान मापदण्ड लागू नगरिएको भन्दै सरुवाको विरोध भएको थियो।

    सरुवामा पहुँच र आर्थिक लेनदेनको आरोपसमेत उठेपछि मन्त्री प्रतिभा रावलले कात्तिक १८ गते मन्त्रीस्तरीय निर्णयबाट सबै ८५७ कर्मचारीको सरुवा बदर गरेकी थिइन्। मन्त्रालयले प्राप्त उजुरीमाथि छानबिन गरी स्पष्ट मापदण्डका आधारमा पुनः सरुवा गर्ने निर्णय गरेको थियो।

    जोशीको यसअघिको कार्यकाल पनि कर्मचारी सरुवा व्यवस्थापनसँग जोडिएको थियो। उनले सरुवाका आधार स्पष्ट पार्न मापदण्ड तयार गरी विभागीय मन्त्री र सचिवको सचिवालयमा पठाएका थिए। तर, वार्षिक सरुवाको समय नजिकिँदै गर्दा २०८० भदौमा उनलाई भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा सरुवा गरेर प्रकाश जोशीलाई महानिर्देशक बनाइएको थियो।