धनगढीः कञ्चनपुरको झिलमिला ताल केवल प्राकृतिक सौन्दर्यले भरिएको पर्यटकीय गन्तव्य मात्रै होइन, धार्मिक आस्था, पौराणिक किंवदन्ती र अनेकौँ रहस्यसँग जोडिएको अनुपम सम्पदा पनि हो। पौराणिक नाम महेन्द्र गिरी पर्वत अर्थात् चुरे पर्वत शृङ्खलाको हरियाली जंगलबीच अवस्थित यो तालको सौन्दर्य जति आकर्षक छ, यससँग जोडिएका जनविश्वास र किंवदन्ती त्यति नै रोचक छन्।
यस पटक तिहारको बिदामा झिलमिला ताल पुग्ने अवसर मिल्यो। चैतन्य पाठशालाका प्रमुख कार्यकारी निर्देशक (सिइओ) गणेशप्रसाद जोशी, शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वर गिरी, प्रतिनिधिसभा सदस्य डाक्टर ताराप्रसाद जोशी र पूर्वसांसद डाक्टर दीपकप्रकाश भट्टसँगको भ्रमणले झिलमिलाको प्राकृतिक सुन्दरता नजिकबाट नियाल्ने मात्र होइन, यस क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्भावनाबारे बुझ्ने अवसर पनि प्रदान गर्यो।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९, मटेना क्षेत्रमा पर्ने झिलमिला ताल महेन्द्रनगरबाट करिब २५ देखि २९ किलोमिटरको दूरीमा छ। समुद्री सतहबाट करिब ६६८ देखि ६८० मिटर उचाइमा रहेको यो ताल चुरे क्षेत्रको घना जंगल, सालका रूख र हरियाली पहाडले घेरिएको छ। यहाँ पुग्दा शहरको कोलाहलबाट टाढा प्रकृतिको काखमा पुगेको अनुभूति हुन्छ।
महाभारतकालीन कथासँग जोडिएको ताल
झिलमिला तालको चर्चा गर्दा यससँग जोडिएको महाभारतकालीन प्रसङ्ग छुटाउन मिल्दैन। स्थानीय जनविश्वासअनुसार पाँच पाण्डव वनवासका क्रममा यस क्षेत्रमा आइपुगेका थिए। पानीको खोजीमा तालमा पुगेका पाण्डवमध्ये युधिष्ठिरबाहेक अन्य चार भाइले पानी पिउन खोज्दा यक्षको प्रश्नको बेवास्ता गरेपछि मूर्छित भएका थिए। पछि युधिष्ठिरले यक्षका प्रश्नको उत्तर दिएपछि आफ्ना भाइहरूलाई जीवनदान मिलेको पौराणिक कथा यस तालसँग जोडिन्छ।
महाभारतको यक्षप्रश्न प्रसङ्गसँग झिलमिला ताललाई जोडेर हेरिने गरिएको छ। ताल परिसरमा रहेका महन्तका अनुसार मानसखण्ड क्षेत्रका देवीदेवताहरू ब्रह्ममुहूर्तमा यहाँ स्नान गर्न आउने धार्मिक विश्वाससमेत छ। तालको उत्तरमा भगवान परशुरामको तपोभूमि परशुराम धाम अवस्थित छ। परशुराम धाम डडेल्धुरा जिल्लास्थित महाकाली किनारमा अवस्थित छ।

तालको किनारमा आमा झिलमिलाको मन्दिर र सानो थान रहेको छ। श्रद्धालुहरू यहाँ पूजाआजा गर्न पुग्छन्। तालमा अक्षता छर्किंदा माछाका बथान सतहमा देखापर्ने दृश्यलाई भक्तजनले धार्मिक आस्थासँग जोड्ने गरेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा अवस्थित झिलमिला ताल र डडेल्धुराको परशुराम नगरपालिकामा रहेको परशुराम धाम बीचको दूरी भौगोलिक वा सडकको अवस्थाअनुसार करिब १४ देखि १७ किलोमिटर को हाराहारीमा रहेको विभिन्न ट्राभल तथा स्थानीय रेकर्डहरूले देखाउँछन्।
रङ बदल्ने तालका अनेकौँ रहस्य
झिलमिला तालको सबैभन्दा रोचक विशेषता यसको पानीको रङ परिवर्तन हुने जनविश्वास हो। स्थानीयका अनुसार तालको पानी दिनमा तीनदेखि चार पटकसम्म रङ बदल्छ। बिहान सुनौलो, दिउँसो निलो र साँझ हरियो देखिने विश्वास गरिन्छ। यही विशेषताका कारण तालको नाम झिलमिला रहन गएको जनश्रुति छ।
तालसँग जोडिएका अन्य रहस्य पनि कम रोचक छैनन्। तालमा कुनै पात खस्यो भने चराले टिपेर बाहिर फाल्ने गरेको स्थानीय जनविश्वास छ। तालको पानीको सतह वर्षभरि एकनास रहने र यहाँका माछाको सङ्ख्या तथा आकारसमेत सधैँ उस्तै रहने विश्वास गरिन्छ।
तालमा कालो र जुँगा भएका माछाहरू देखिन्छन्। यहाँ माछा मार्न र नुहाउन निषेध गरिएको छ। तालको प्राकृतिक अवस्था र धार्मिक पवित्रता कायम राख्न स्थानीयले यस्ता मान्यताको पालना गर्दै आएका छन्।
पूर्णागिरीदेखि सिद्धनाथ हुँदै झिलमिलासम्म
झिलमिला तालको धार्मिक महत्त्व भारतको प्रसिद्ध शक्तिपीठ पूर्णागिरि र कञ्चनपुरको सिद्धनाथ मन्दिरसँग पनि जोडिएको छ। धार्मिक मान्यताअनुसार भारतको पूर्णागिरी मन्दिरमा दर्शन गरेपछि नेपालतर्फको सिद्धनाथ मन्दिर हुँदै झिलमिला तालको दर्शन गर्ने परम्परा रहेको छ।
यसले झिलमिला ताललाई सीमावर्ती क्षेत्रको धार्मिक पर्यटनसँग जोड्ने सम्भावना देखाउँछ। पूर्णागिरीमा भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा श्रद्धालु पुग्ने गरेका छन्। त्यहाँ आउने दर्शनार्थीलाई सिद्धनाथ र झिलमिलासम्म पुर्याउन सके यस क्षेत्रको धार्मिक पर्यटनले नयाँ गति लिन सक्छ।
सडकको अभावले ओझेलमा पर्यटकीय सम्भावना
प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वले भरिपूर्ण झिलमिला ताल पुग्न भने अहिले पनि सहज छैन। महेन्द्रनगरबाट ब्रह्मदेव हुँदै मटेना–ताराकोट क्षेत्रको बाटो भएर तालतर्फ जान सकिन्छ। झिलमिला तालभन्दा करिब एक किलोमिटर वरसम्म सडक निर्माण गरिएको भए पनि हाल करिब पाँच किलोमिटर वरसम्म मात्रै सवारीसाधन पुग्न सक्ने अवस्था रहेको भ्रमणका क्रममा जानकारी पाइयो। त्यसपछि पैदल यात्रा गर्नुपर्छ।
सडक निर्माण भएको स्थानमा समेत झाडी सफा नगरिएका कारण चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुने गरेको छ। कालोपत्र गरिएको सडकसमेत उचित संरक्षण र सरसफाइको अभावमा पूर्ण रूपमा उपयोग हुन सकेको छैन।
झिलमिला पुग्ने सडकको निर्माण प्रयास नयाँ भने होइन। २०५६ सालमै तत्कालीन जिल्ला विकास समितिले सडकको मार्ग खोल्ने काम गरेको थियो। तर दशकौँ बितिसक्दा पनि सडकलाई सहज र बाह्रै महिना सञ्चालन गर्न सकिने अवस्थामा पुर्याउन सकिएको छैन।
पूर्वसङ्घीय सांसद डाक्टर दीपकप्रकाश भट्टले स्थानीय तथा प्रदेश सरकारले झिलमिला तालको पर्यटकीय सम्भावना उजागर गर्न पर्याप्त काम गर्न नसकेको बताए। प्राकृतिक र धार्मिक महत्त्व बोकेको यति सुन्दर सम्पदाको प्रचारप्रसार, पूर्वाधार विकास र संरक्षणमा राज्यले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। उनका अनुसार पूर्णागिरी नजिकै महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गर्न सकिए, ब्रह्मदेव हुँदै झिलमिला र परशुराम धामलाई एउटै धार्मिक पर्यटकीय सर्किटमा जोड्न सकिने सम्भावना छ।
संरक्षणसँगै पर्यटन प्रवर्द्धनको खाँचो
झिलमिला तालमा पर्यटक आकर्षित गर्ने आधार अनेकौँ छन्। घना जंगल, हरियाली पहाड, स्वच्छ वातावरण, रहस्यमय मान्यता र धार्मिक आस्थाले यसलाई विशिष्ट पर्यटकीय गन्तव्य बनाएका छन्। पदयात्रा, प्रकृति अवलोकन, चराचुरुङ्गीको अध्ययन र धार्मिक भ्रमणका लागि पनि यो उपयुक्त स्थल हुन सक्छ। झिलमिला क्षेत्रमा ध्यान केन्द्र निर्माण गर्न सके नेपाल तथा भारतबाट ध्यान गर्न आउनेका लागि प्रमुख गन्तव्य हुने सम्भावन रहेको पूर्वसांसद भट्टले बताए।
यस्तै, संघीय सांसद डाक्टर ताराप्रसाद जोशीले पूर्णागिरी, सिद्धनाथ, झिलमिला र डडेल्धुराको परशुराम धामलाई एउटै सर्किटमा विकास गर्नुपर्ने बताए।
झिलमिला र परशुराम धामलाई जोड्न सके धार्मिक र पर्यापर्यटनबाट लाभ लिन सकिने चैतन्य पाठशालाका सिइओ गणेशप्रसाद जोशीले बताए। पर्यटकीय स्थल भएर मात्रै पर्यटन विकास हुँदैन। त्यसका लागि सहज सडक पहुँच, पदमार्ग व्यवस्थापन, सूचना तथा सङ्केत चिह्न, विश्रामस्थल, खानेपानी, सरसफाइ र सुरक्षा व्यवस्थाको आवश्यकता पर्छ। तालको प्राकृतिक स्वरूपमा असर नपर्ने गरी व्यवस्थित पर्यटन पूर्वाधार निर्माण गर्नु उत्तिकै आवश्यक छ।
विशेषगरी तालको धार्मिक तथा प्राकृतिक महत्त्वलाई ध्यानमा राखेर यसको संरक्षणमा स्थानीय समुदायलाई सहभागी गराउनुपर्छ। तालमा फोहोर फाल्ने, जलचरलाई असर पुर्याउने र प्राकृतिक संरचना बिगार्ने गतिविधि नियन्त्रण गर्नुपर्छ।

झिलमिला तालको अर्को महत्त्वपूर्ण पक्ष यसको प्रचारप्रसार हो। कञ्चनपुरकै कतिपय पर्यटकीय गन्तव्यको तुलनामा झिलमिलाको चर्चा कम हुने गरेको छ। स्थानीय, प्रदेश र सङ्घीय सरकारले यसको पहिचान स्थापित गर्न सके सुदूरपश्चिमको पर्यटन नक्सामा झिलमिला महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुन सक्छ।
तिहारको बिदामा झिलमिला पुग्दा प्रकृतिले दिएको अनुपम उपहारको अनुभूति भयो। तर त्यही सौन्दर्यसम्म पुग्नुपर्ने कठिन यात्रा र पूर्वाधारको दयनीय अवस्थाले मनमा अर्को प्रश्न पनि उब्जायो— धार्मिक किंवदन्ती, प्राकृतिक रहस्य र पर्यटकीय सम्भावनाले भरिएको झिलमिला तालले अझै कति समयसम्म उपेक्षा खेप्नुपर्ने हो?
झिलमिला तालको विकास भनेको केवल एउटा तालसम्म सडक पुर्याउनु मात्र होइन। यो सुदूरपश्चिमको धार्मिक पर्यटन, प्राकृतिक सम्पदा संरक्षण र स्थानीय आर्थिक समृद्धिको सम्भावनालाई उजागर गर्नु पनि हो। राज्यले समयमै ध्यान दिन सके झिलमिला ताल आन्तरिक पर्यटकको आकर्षण मात्र नभई भारतीय धार्मिक पर्यटकको समेत गन्तव्य बन्न सक्छ। त्यसका लागि अब आश्वासन होइन, योजनाबद्ध पहल र परिणाम देखिने काम आवश्यक छ।
झिलमिलासँग पूर्णागिरी-सिद्धनाथ र परशुराम धाम जोड्न सके यो स्थान मानसखण्ड अर्थात् सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ। यो सर्किटको विकासका लागि तीनै तहको सरकारले योजनावद्ध काम गर्नु आवश्यक छ।