काठमाडौं – सरकारले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर योगदान गर्ने १९ विधाका करदाता तथा संस्थालाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको हो। यस वर्ष थप तीन विधा समेटिएसँगै सम्मानित हुने क्षेत्रको संख्या १९ पुगेको छ।
करदातालाई करप्रति प्रोत्साहित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ठूला उद्योग, बैंक तथा वित्तीय संस्था, बीमा, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जा, वस्तु तथा सेवा निर्यातलगायत क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरिएको हो।
सबैभन्दा बढी आयकर दाखिला गर्ने निकायका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ। एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनलले सम्मान पाउँदा वस्तु निर्यातमा डाबर नेपाल प्रालि र सूचना प्रविधि सेवा निर्यातमा इन्फाइनाइट सफ्टवेयर सर्भिसेस् नेपाल उत्कृष्ट ठहरिएका छन्।
त्यसैगरी कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसिबी फुड्स एण्ड फिड्स प्रालिले सम्मान प्राप्त गरेको छ। बैंकिङ क्षेत्रबाट नबिल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित भएका छन्। पर्यटन क्षेत्रमा सोल्टी होटल लिमिटेड उत्कृष्ट करदाताका रूपमा छनोट भएको छ।
वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालिले सम्मान पाएको छ भने वार्षिक ५० करोडदेखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एण्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि उत्कृष्ट बनेको छ। ऊर्जा उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि र रेमिटेन्स तथा मनी ट्रान्सफर सेवातर्फ आईएमई लिमिटेड सम्मानित भएका छन्।
व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर दाखिला गर्ने राजबहादुर शाहलाई सम्मान गरिएको छ। समयमै मूल्य अभिवृद्धि कर विवरण बुझाई नियमित रूपमा कर दाखिला गर्ने करदातामध्ये हिमालयन डिस्टिलरी लिमिटेड सम्मानित भएको छ। त्यस्तै, वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदाताको विधामा इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले सम्मान प्राप्त गरेको छ।
अन्य विधातर्फ विशेष उद्योगमा वरुण बेभरेज नेपाल प्रालि, जीवन बीमामा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, निर्जीवन बीमामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र लघुवित्त क्षेत्रमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट करदाता घोषित भएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललगायतको उपस्थितिमा उत्कृष्ट करदातालाई सम्मान गरिएको हो।
मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन मंसिर १ गतेको स्मरणमा सरकारले २०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। यसअघि १६ विधामा सम्मान प्रदान गरिँदै आएकोमा यस वर्ष तीन विधा थप गरी १९ पुर्याइएको हो।