अन्ताल्या (टर्किए) – नेपालले जलवायु परिवर्तनका कारण प्रभावित क्षेत्रको पुनर्निर्माण तथा जलवायु अनुकूलनका कार्यक्रमलाई प्रभावकारी बनाउन एसियाली विकास बैंक (एडिबी) सँग थप आर्थिक तथा प्राविधिक सहयोग माग गरेको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गत अगस्ट २६ मा आएको बाढीबाट क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माण, जलवायु उत्थानशील पूर्वाधार निर्माण र प्रभावित समुदायको पुनर्लाभका लागि एडिबीको सहयोग आवश्यक रहेको बताएकी हुन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का क्रममा सोमबार एडिबीका उपाध्यक्षलगायत प्रतिनिधिसँग भएको द्विपक्षीय भेटमा मन्त्री चौधरीले विशेषगरी भोटेकोशी करिडोरको पुनर्निर्माणमा बैंकको साझेदारी अपेक्षा गरिएको बताइन् ।
उनका अनुसार भोटेकोशी बाढीले बस्ती, सडक, पुल, जैविक विविधता तथा सांस्कृतिक सम्पदामा ठूलो क्षति पुर्याएको छ । उक्त क्षेत्रको पुनर्लाभका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । उनले यस विपद्लाई जलवायु परिवर्तनबाट उत्पन्न हानि तथा नोक्सानीको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गरिन् ।
मन्त्री चौधरीले हानि तथा नोक्सानी प्रतिकार्य कोषबाट नेपालले प्राप्त गरेको दुई करोड अमेरिकी डलर सहयोगप्रति आभार व्यक्त गर्दै पुनर्निर्माणलाई दिगो बनाउन जलवायु उत्थानशील पूर्वाधार, सुरक्षित पुनर्वास, जीविकोपार्जनका अवसर र पूर्वसूचना प्रणालीको विकासमा एडिबीको थप सहयोग आवश्यक रहेको बताइन् ।
नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति हुने प्रक्रियामा रहेकाले जलवायु अनुकूलन र पुनर्लाभका लागि अनुदानमा आधारित वित्तीय स्रोत महत्त्वपूर्ण हुने उनको भनाइ थियो । उनले एडिबीलाई अनुदान सहयोग बढाउन तथा सहयोग परिचालनका प्रक्रिया सरल र छिटो बनाउन आग्रह गरिन् ।
यसैगरी, हरित तथा उत्थानशील वित्त सुविधा (ग्रिन एन्ड रिजिलियन्स फाइनान्सिङ फ्यासिलिटी) को अवधारणा र डिजाइनमा एडिबीले गरेको नेतृत्वको प्रशंसा गर्दै मन्त्री चौधरीले स्थानीय समुदायको नेतृत्वमा सञ्चालन हुने अनुकूलन कार्यक्रमका लागि अनुदानको व्यवस्था गरी उक्त सुविधा शीघ्र स्वीकृत गर्नुपर्नेमा जोड दिइन् ।
उनले नेपालको पर्वतीय लचिलोपन रणनीति तथा लगानी ढाँचा ‘लिभिङ सगरमाथा’ कार्यान्वयनमा समेत एडिबीलाई साझेदारीका लागि आमन्त्रण गरिन् । नेपाल, भुटान र कीर्गिज गणतन्त्रले कोप–३१ मा पर्वतीय मुद्दालाई प्राथमिकताका साथ उठाइरहेको उल्लेख गर्दै उनले पर्वतीय क्षेत्रको उत्थानशीलता अभिवृद्धिमा एडिबीको निरन्तर नेतृत्वको स्वागत गरिन् ।
नेपाल जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न तथा विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रति प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारिन् ।
भेटका क्रममा मन्त्री चौधरीले कोप–३१ मा नेपालको प्याभिलियन सञ्चालनमा एडिबीले पुर्याएको सहयोगको समेत प्रशंसा गरिन् । उक्त सहयोगबाट सरकार, विकास साझेदार, नागरिक समाज, प्रदेश तथा स्थानीय सरकार, समुदाय र युवाको सहभागितामा ५० भन्दा बढी कार्यक्रममार्फत नेपालको जलवायु प्राथमिकता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर मिलेको उनले बताइन् ।
नेपालको विकास यात्रामा एडिबीले लामो समयदेखि प्रदान गर्दै आएको सहुलियतपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दै उनले कोप–३१ सम्पन्न भएपछि अर्थ मन्त्रालय र एडिबीको नेपाल आवासीय मिसनसहित सम्बन्धित टोलीबीच छलफल गरी प्रस्तावित सहयोगलाई अघि बढाउन आग्रह गरिन् ।
टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म सञ्चालन भइरहेको कोप–३१ मा जलवायु परिवर्तन, अनुकूलन तथा पर्वतीय क्षेत्रका मुद्दाबारे विभिन्न छलफल भइरहेका छन् ।