त्रिवेणीधाममा आजदेखि एकमहिने पितृमुक्ति महायज्ञ, मुक्तिनाथ रथयात्रा सम्पन्न - Chaitanya News
  • 2026-11-17
  • 08:51:57
  • मंगलबार,मंसिर ०२, २०८३
  • त्रिवेणीधाममा आजदेखि एकमहिने पितृमुक्ति महायज्ञ, मुक्तिनाथ रथयात्रा सम्पन्न

    त्रिवेणीधाममा आजदेखि एकमहिने पितृमुक्ति महायज्ञ, मुक्तिनाथ रथयात्रा सम्पन्न

    नारायणगढ (चितवन) – मुक्तिनाथबाट सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरस्थित गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ । कात्तिक ८ गते मुक्तिनाथबाट सुरु भएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलको परिक्रमा गर्दै मेचीदेखि महाकालीसम्म पुगेर पुनः त्रिवेणीधाम आइपुगेको हो ।

    मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य) को सत्संकल्पमा आयोजना गरिएको रथयात्रा सम्पन्न भएसँगै आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु हुँदैछ ।

    रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यका अनुसार यात्राका क्रममा देशका विभिन्न धार्मिकस्थलको भ्रमण गरी मेची र महाकालीको जल संकलन गरिएको छ । उक्त जल गण्डकी नदीमा अर्पण गरिने उनले बताए । रथयात्राको अन्तिम गन्तव्यमा स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।

    महायज्ञको पहिलो दिन बिहान ८ बजे गौशालामा सामूहिक गौपूजा, ९ बजे गण्डकी पूजन तथा १० बजे बाजागाजा, भजनकीर्तनसहित कलश यात्रा गर्ने कार्यक्रम रहेको छ । गण्डकी नदीको तट हुँदै धामको परिक्रमा गरी कलश यात्रा यज्ञस्थलमा पुग्नेछ ।

    त्यसपछि भगवान् मुक्तिनाथको सन्निधिमा सामूहिक संकल्प, कन्या पूजा तथा दीप प्रज्वलन गरिनेछ । बिहान ११ः३५ बजे दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिए ।

    मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यका अनुसार एकमहिने महायज्ञमा धान्याचल, पितृमुक्ति यज्ञ, हवन तथा भागवत प्रवचनलगायत धार्मिक अनुष्ठान सञ्चालन गरिनेछ ।

    प्राकृतिक विपत्ति, सडक दुर्घटना, आन्दोलन, अतिवृष्टि, अनावृष्टि तथा कोरोना महामारीलगायत विभिन्न कारणले दिवंगत भएका आत्माको उद्धार र शान्तिको कामनासहित पितृमुक्ति महायज्ञ आयोजना गर्न लागिएको उनले बताए ।

    उनले महायज्ञमा सहभागी भई यज्ञशालाको परिक्रमा, जप तथा ध्यान गर्न श्रद्धालु भक्तजनलाई आग्रह गरेका छन् ।