एनपीएलः फाइनलका लागि लुम्बिनी र सुदूरपश्चिमको भिडन्त - Chaitanya News
  • 2026-11-17
  • 09:00:37
  • मंगलबार,मंसिर ०२, २०८३
  • एनपीएलः फाइनलका लागि लुम्बिनी र सुदूरपश्चिमको भिडन्त

    एनपीएलः फाइनलका लागि लुम्बिनी र सुदूरपश्चिमको भिडन्त

    काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

    कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ । आजको प्रतिस्पर्धामा जित निकाल्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले उपाधि दौडबाट बाहिरिनुपर्ने छैन ।

    पहिलो क्वालिफायरमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग अर्को प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ । त्यसैले दुवै टोली आजको खेल जित्दै पहिलो प्रयासमै फाइनल यात्रा तय गर्ने योजनामा छन् ।

    सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ भने लुम्बिनी लायन्स दोस्रो पटक उपाधि भिडन्तमा स्थान बनाउने दाउमा छ ।

    यी दुई टोलीबीचको प्रतिस्पर्धा यस संस्करणमा पनि रोचक बन्ने देखिएको छ । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो । यस सिजनको पहिलो भेटमा पनि लुम्बिनीले नै सुदूरपश्चिमलाई हराएको थियो ।

    त्यसैले आजको खेल लुम्बिनीका लागि आफ्नो जितको लय कायम राख्ने अवसर हुनेछ भने सुदूरपश्चिमका लागि पछिल्ला दुई हारको बदला लिने मौका हुनेछ ।

    दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम आज जित निकाल्दै लगातार तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रनेछ । उता लुम्बिनी पनि आफ्नो पहिलो क्वालिफायरको अवसर सदुपयोग गर्दै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ ।