काठमाडौं – वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा देखिएका नयाँ चुनौती सामना गर्न नेपाल प्रहरीले आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले जोड दिएका छन्।
अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिने कार्यशाला गोष्ठी उद्घाटन गर्दै उनले वित्तीय अपराध नियन्त्रणका लागि परम्परागत अनुसन्धान पद्धति मात्र पर्याप्त नहुने बताए।
‘वित्तीय अपराधको बदलिँदो स्वरूप, अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोग तथा यसबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको अवलम्बन अपरिहार्य रहेको छ,’ उनले भने।
‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नारासहित आयोजित कार्यशालाको मुख्य विषय ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ।
कार्यशालाले वित्तीय अपराध अनुसन्धानका क्रममा देखिएका विद्यमान समस्या र चुनौतीको विश्लेषण गर्दै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई प्रभावकारी बनाउने उपाय पहिचान गर्ने अपेक्षा गरिएको आईजीपी केसीले बताए।
उनले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे। साथै, अनुसन्धानलाई प्रभावकारी बनाउन सूचनाको सहज तथा प्रभावकारी आदानप्रदानमा जोड दिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी), अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकायका प्रतिनिधि तथा बैंक, वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।