धनगढीः डोटीको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक बडीकेदार मेलामा सहभागी हुन चाहने धनगढीवासीका लागि धनगढी उपमहानगरपालिकाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
उपमहानगरपालिकाले मेलामा सहभागी हुन जाने नगरवासीका लागि पाँचवटा बसको व्यवस्था गरेको हो। बसहरू मंसिर ६ गते बिहान ११ बजे धनगढीबाट बडीकेदारका लागि प्रस्थान गर्नेछन् भने मंसिर ७ गते धनगढी फर्किने कार्यक्रम रहेको छ।
मेलामा सहभागी हुन इच्छुक नगरवासीले मंसिर ४ गते अपराह्न ४ बजेसम्म नाम दर्ता गराउन सक्नेछन्। बसमा सिट सीमित भएकाले पहिले नाम दर्ता गराउनेलाई प्राथमिकता दिइने उपमहानगरपालिकाले जनाएको छ।
नगर प्रमुख गोपाल हमालले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको बडीकेदार मेलामा सहभागी हुन नगरवासीलाई आग्रह गरेका छन्। मेलामा सहज रूपमा आवतजावत गर्न सकून् भन्ने उद्देश्यले निःशुल्क यातायातको व्यवस्था गरिएको उनले बताएका छन्।
उपमहानगरपालिकाको यस व्यवस्थाले बडीकेदार मेला अवलोकन गर्न चाहने धनगढीवासीलाई सहज हुने छ।