धनगढीः कैलालीका पुष्प कृषक सीताराम चौधरीले यस वर्षको तिहारमा मात्रै ६ लाख २६ हजार रुपैयाँ बराबरको फूल बिक्री गरेका छन्।
एक दशकदेखि फूल खेती गर्दै आएका टीकापुर नगरपालिका–१, वनगाउँका चौधरीले प्रतिकेजी चार सय रुपैयाँका दरले १५ क्विन्टल ६५ केजी सयपत्री फूल बिक्री गरेका हुन्।
स्थानीयस्तरमै सयपत्री फूल उत्पादन बढेकाले यस वर्ष मूल्य केही सस्तो भए पनि गत वर्षको तुलनामा बढी परिमाणमा फूल बिक्री गर्न सफल भएको चौधरीले बताए।
उनले टीकापुर र लम्कीचुहा नगरपालिकाका स्थानीय बजारको मागलाई लक्षित गरेर फूल उत्पादन गर्दै आएका छन्। तिहारका बेला स्थानीय ग्राहकसँगै टाढाटाढाबाट समेत फूल खरिद गर्न ग्राहक आएको उनले जानकारी दिए।
विगतमा एक बिघामा पुष्पखेती गर्दै आएका चौधरीले यो पटक भने १३ कट्ठामा सयपत्री र मखमली लगाएको चौधरीले बताए। ‘गत वर्षसम्म एक बिघा क्षेत्रफलमा फूलखेती थियो तर यो वर्ष घटाएर १३ कट्ठामा मात्रै गरेकोमा विगतभन्दा बढी उत्पादन भयो,’ उनले भने, ‘यो पटक बिउ राम्रो परेकाले उत्पादन बढ्यो र सबै फूलसमेत बिक्री भयो।’
टीकापुर र लम्कीचुहाको मागलाई मध्यनजर गरेर १३ कट्ठा फूलखेती गरेको बताउने चौधरीले यो वर्षको तिहारमा सुखड, बौनियाँ, जोशीपुर र वर्दियाको राजापुरबाट फूलको माग आएको बताए।
चौधरीले बेमौसमी फूल खेतीसमेत गर्दै आएका छन्। बेमौसममा सयपत्री फूल प्रतिकेजी एक हजार रुपैयाँसम्ममा बिक्री गरेको उनको अनुभव छ। तिहारमा मूल्य कम भए पनि बढी परिमाणमा बिक्री हुँदा राम्रो आम्दानी भएको उनले बताए।
तिहार सकिए पनि चौधरीको बगैँचामा अहिले पुनः सयपत्री फूल ढकमक्क फुलेको छ। मंसिरमा हुने विवाहका लागि फूलको माग आउन थालेको उनले जानकारी दिए। फूलको माग तिहारमा मात्र नभई विवाह तथा अन्य समारोहमा पनि हुने भएकाले वर्षभरि नै फूलखेती गर्न थालेको चौधरीले बताए।
पुष्प व्यवसायी चौधरीले फूल उत्पादनसँगै माला बनाउने, बुकी तयार गर्ने र मञ्च सजाउने कामसमेत गर्दै आएका छन्। वरमालादेखि पुष्प बुकीको मागसमेत आउने भएकाले वर्षभरि नै पुष्पखेतीबाट आम्दानी हुने गरेको उनले बताए।
चौधरीको अनुभवले फूल खेतीमा मौसमी र बेमौसमी दुवै समयमा आम्दानीको सम्भावना रहेको देखाउँछ। बजारको माग, उत्पादन र उचित मूल्यको सुनिश्चितता हुन सके पुष्प खेती किसानका लागि राम्रो आम्दानीको माध्यम बन्न सक्छ।