एनपीएलको दोस्रो क्वालिफायरमा पुग्न काठमाडौं र चितवनबीच प्रतिस्पर्धा - Chaitanya News
  • 2026-11-18
  • 09:09:05
  • बुधबार,मंसिर ०३, २०८३
  • एनपीएलको दोस्रो क्वालिफायरमा पुग्न काठमाडौं र चितवनबीच प्रतिस्पर्धा

    एनपीएलको दोस्रो क्वालिफायरमा पुग्न काठमाडौं र चितवनबीच प्रतिस्पर्धा

    काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान बनाउन आज काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने इलिमिनेटर खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो उपस्थिति कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछन् । खेल आज दिउँसो साढे ४ बजे सुरु हुनेछ ।

    अंक तालिकामा तेस्रो स्थान हासिल गरेको काठमाडौं गोर्खाज र चौथो स्थानमा रहेको चितवन राइनोजबीचको यो खेल दुवै टोलीका लागि निर्णायक हुनेछ । आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।

    इलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्ससँग बिहीबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

    दोस्रो क्वालिफायर जित्ने टोलीले उपाधिका लागि शनिबार लुम्बिनी लायन्ससँग फाइनल खेल्नेछ । त्यसैले काठमाडौं र चितवन दुवैका लागि आजको खेल प्रतियोगितामा अघि बढ्ने महत्त्वपूर्ण अवसरका रूपमा रहेको छ ।