चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 19 of 1099
  • 2026-10-04
  • 14:40:22
  • आइतबार,आश्विन १८, २०८३

About Author

भारी वर्षाको सम्भावना, पदयात्रा र हिमाल आरोहणमा पर्यटन बोर्डको उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ– आगामी असोज ९ देखि ११ गतेसम्म विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि बोर्डले पर्यटक, पदयात्री, पर्वतारोही तथा पर्यटन व्यवसायीलाई जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन अपिल गरेको हो। बोर्डका प्रवक्ता सुनिल शर्माले अहिले पर्यटकीय मौसम भएकाले देशका विभिन्न क्षेत्रमा पदयात्रा, हिमाल आरोहण, मेला तथा महोत्सवलगायतका गतिविधि भइरहेको भन्दै प्रतिकूल मौसमलाई ध्यान दिएर यात्रा तथा कार्यक्रमको योजना बनाउन आग्रह गरे। ‘अहिले विभिन्न क्षेत्रमा हिमाल आरोहण, पदयात्रा, मेला तथा महोत्सवहरू भइरहेका छन्,’ उनले भने, ‘भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै यस्ता गतिविधि सञ्चालन गर्दा उच्च सतर्कता र आवश्यक सावधानी अपनाउन विशेष अपिल गर्दछौँ।’ विभागका अनुसार असोज ७ गते बुधवारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ। असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा कर्णाली प्रदेशका थोरै स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढ्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने भएकाले बोर्डले पर्यटकीय गतिविधि सञ्चालन गर्दा मौसमको पछिल्लो अवस्था अनिवार्य रूपमा जानकारी लिन आग्रह गरेको छ। प्रवक्ता शर्माले मौसमसम्बन्धी आधिकारिक सूचना पर्यटन बोर्ड र मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा सामाजिक सञ्जालबाट नियमित रूपमा हेर्न आग्रह गरे। ‘जोखिमयुक्त मौसममा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘आवश्यक परे यात्रा तथा अन्य गतिविधि स्थगित गर्न पनि पछि हट्नु हुँदैन।’ सम्भावित अप्रिय घटना रोक्न बोर्डले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित पर्यटन व्यवसायीसँग समन्वय गरेर यात्राको तालिका तय गर्न पदयात्री र पर्वतारोहीलाई आग्रह गरेको छ।

News by भारी वर्षाको सम्भावना, पदयात्रा र हिमाल आरोहणमा पर्यटन बोर्डको उच्च सतर्कता अपनाउन आग्रह :