कर्णाली सरकारको कामको विवरण सार्वजनिक, खर्च प्रगति ७.२० प्रतिशत - Chaitanya News
  • 2026-11-08
  • 10:56:39
  • आइतबार,कार्तिक २३, २०८३
  • कर्णाली सरकारको कामको विवरण सार्वजनिक, खर्च प्रगति ७.२० प्रतिशत

    कर्णाली सरकारको कामको विवरण सार्वजनिक, खर्च प्रगति ७.२० प्रतिशत

    कर्णाली– कर्णाली प्रदेश सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा भएका काम, प्रगति र उपलब्धिहरू सार्वजनिक गरेको छ। सरकारले विकास निर्माण, शासकीय सुधार, विपद् व्यवस्थापन तथा कानुन निर्माणलाई प्राथमिकतामा राख्दै काम अघि बढाएको जनाएको छ।

    शनिबार सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार भेटघाट तथा दीपावली शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री मंगलबहादुर शाहीले सरकारका १०० दिनका उपलब्धि सार्वजनिक गरेका हुन्।

    मुख्यमन्त्री शाहीका अनुसार कात्तिक २० गतेसम्म प्रदेश सरकारको कुल बजेट खर्च ७.२० प्रतिशत पुगेको छ। जसमा पुँजीगततर्फ ३.९३ प्रतिशत र चालुतर्फ १२.२४ प्रतिशत खर्च भएको छ। उनले गत आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकको तुलनामा यस वर्ष खर्च प्रगति सुधार भएको दाबी गरे।

    सरकारले यस अवधिमा पाँच विधेयक, दुई नियमावली, एक शैक्षिक योजना र छवटा कार्यविधि प्रदेशसभामा पेस गर्न मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ। त्यस्तै, कर्णालीमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको मुख्यमन्त्री शाहीले बताए।

    शासकीय सुधारअन्तर्गत प्रदेशमा रहेका विभिन्न तालिम केन्द्रलाई एकीकृत गरी कर्णाली प्रदेश प्रतिष्ठानअन्तर्गत सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। प्रदेश तथा स्थानीय तहका कर्मचारीको क्षमता अभिवृद्धिका लागि संगठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन स्वीकृत गरिएको पनि सरकारले जनाएको छ।

    त्यसैगरी, सरकारको कार्यसम्पादनलाई नतिजामुखी बनाउन मुख्यमन्त्री र मन्त्रीहरू, मन्त्री र सचिवहरू तथा सचिव र कार्यालय एवं आयोजना प्रमुखहरूबीच कार्यसम्पादन सम्झौता गरिएको छ।

    विपद् व्यवस्थापनतर्फ भोटेकोशी बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा दुई करोड रुपैयाँ जम्मा गरिएको छ। बाढी प्रभावितको शव ढुवानी तथा किरिया खर्चका लागि कर्णालीका १० वटै जिल्लाका जिल्ला विपद् व्यवस्थापन कोषमा १५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराइएको मुख्यमन्त्री शाहीले जानकारी दिए।

    यसका साथै विपद् राहत तथा उद्धार सामग्री खरिदका लागि प्रदेशका सबै जिल्लामा २० लाख रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको छ।

    विकास निर्माणतर्फ रुग्ण, बहुवर्षीय तथा न्यून प्रगति भएका आयोजनालाई शीघ्र सम्पन्न गर्न सम्बन्धित निकाय र प्रतिनिधिहरूसँग छलफल तथा समन्वय गरिएको सरकारले जनाएको छ।

    मुख्यमन्त्री शाहीका अनुसार पछिल्लो चार महिनामा प्रदेश सरकारले २४ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

    सीमित स्रोतसाधन र जनशक्तिको अभावका बाबजुद पनि सरकारले नियमित कामलाई तीव्रता दिएको दाबी गर्दै मुख्यमन्त्री शाहीले आगामी दिनमा विकास निर्माण, सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।