काठमाडौँ– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका चुनौती र त्यसको समाधानका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन परराष्ट्रमन्त्री शिशिर खनाल टर्कीएको आन्ताल्या पुगेका छन्।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन मन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुगेका हुन्।
नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मङ्सिर ४) सम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ (कात्तिक २३) मा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यस्तै, नोभेम्बर ११ र १२ (कात्तिक २५ र २६) मा आयोजना हुने विश्व नेताहरूको शिखर सम्मेलनमा पनि उनले सहभागिता जनाउनेछन्।
सम्मेलनका क्रममा हिमाली क्षेत्रको जलवायु संकट, हिमनदी पग्लिने क्रम, क्रायोस्फियरको संरक्षण तथा जलवायु उत्थानशीलताका विषयमा नेपालको धारणा प्रस्तुत गर्ने अवसरका रूपमा पनि यस सहभागितालाई हेरिएको छ।
यसैक्रममा नेपाल, ताजिकिस्तान, कीर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डा: ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा मन्त्री खनाल सहभागी हुनेछन्।
त्यसैगरी, उनले सम्मेलनका विभिन्न उच्चस्तरीय बैठक तथा साइड इभेन्टमा सहभागिता जनाउनुका साथै अन्य देशका समकक्षी मन्त्री र विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको मन्त्रालयले जनाएको छ।
कोप–३१ मा नेपालको सहभागिताले हिमाली मुलुकका साझा समस्या, जलवायु जोखिम र त्यसको सामना गर्न आवश्यक दिगो वित्तीय सहयोगका विषयलाई अन्तर्राष्ट्रियस्तरमा उठाउने अपेक्षा गरिएको छ।
परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ (कात्तिक २८) गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।