भारतको २ खर्ब ४० अर्ब सहयोगमा ऋण र अनुदानको हिस्सा कति ? भारुमै ऋण लिन सकिने विकल्प खुला - Chaitanya News
  • 2026-11-24
  • 13:39:28
  • मंगलबार,मंसिर ०९, २०८३
  • भारतको २ खर्ब ४० अर्ब सहयोगमा ऋण र अनुदानको हिस्सा कति ? भारुमै ऋण लिन सकिने विकल्प खुला

    भारतको २ खर्ब ४० अर्ब सहयोगमा ऋण र अनुदानको हिस्सा कति ? भारुमै ऋण लिन सकिने विकल्प खुला

    काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा घोषणा भएको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेजमा अनुदानभन्दा ऋणको हिस्सा तीन गुणाभन्दा बढी रहेको छ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार उक्त प्याकेजमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण अर्थात् ‘लाइन अफ क्रेडिट’ रहेको छ।

    प्रतिनिधिसभाको अर्थ समितिको मंगलबार बसेको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले उक्त सहयोग प्याकेजको संरचना र ऋण परिचालनको प्रक्रियाबारे जानकारी गराएका हुन्।

    उनका अनुसार १ खर्ब ८४ अर्ब रुपैयाँको ऋण एकैपटक लिएर खर्च गर्ने योजना होइन। नेपालमा पूर्वाधार तथा निर्माणका काम अघि बढ्दै जाँदा आवश्यक पर्ने वित्तीय स्रोतको अभाव हुन नदिन भारतले ऋण सुविधा उपलब्ध गराएको हो।

    यस प्याकेजको अर्को महत्त्वपूर्ण पक्ष भनेको भारतीय रुपैयाँमै ऋण लिने र भारतीय रुपैयाँमै भुक्तानी गर्न सकिने विकल्प हो । विगतमा अमेरिकी डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावले नेपालको ऋण दायित्व बढाउने गरेको भन्दै अर्थमन्त्रीले भारुमा कारोबार गर्दा यस्तो जोखिम हट्ने बताए।

    वाग्लेले विगतमा डलरको मूल्य ५० रुपैयाँबाट बढेर १५० रुपैयाँसम्म पुग्दा नेपालको ऋण दायित्वमा ठूलो दबाब परेको स्मरण गराए । नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमै ऋण लिएर भारुमै तिर्न सक्दा विनिमय दरको जोखिम नहुने उनको भनाइ छ।

    उनले डलरमा १.५ देखि २.५ प्रतिशत ब्याजदरमा ऋण लिँदा विनिमय दरको जोखिमसमेत व्यहोर्नुपर्ने तर भारुमा मुद्रास्फीतिको हाराहारीमा ब्याजदर कायम भएमा तुलनात्मक रूपमा सहज हुने बताए।

    नेपालले ऋण अमेरिकी डलरमा लिने वा भारतीय रुपैयाँमा लिने भन्ने विकल्प भने अझै खुला रहेको छ। ब्याजदर, भुक्तानी अवधि, ग्रेस पिरियड र ऋणको मुद्रा प्राविधिक वार्ताबाट टुंगो लगाइने अर्थमन्त्री वाग्लेले जानकारी दिए।

    अर्थमन्त्रीका अनुसार नेपालको दीर्घकालीन ऊर्जा क्षेत्रको आवश्यकता १०० अर्ब डलरभन्दा बढी रहेको छ । यही आवश्यकतालाई ध्यानमा राख्दै ऊर्जा मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयमार्फत तत्काल आवश्यक परे परिचालन गर्न सकिने गरी १ अर्ब डलर बराबरको लाइन अफ क्रेडिट सुनिश्चित गरिएको छ।

    सडक पूर्वाधारमा स्थानीय सामग्री तथा जनशक्ति प्रयोगसम्बन्धी सर्तका कारण विगतमा भारतीय ठेकेदारहरूले समेत विभिन्न कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै उनले ऊर्जा तथा प्रसारण लाइनका क्षेत्रमा भने यस्तो ऋण सुविधा प्रभावकारी देखिएको बताए ।

    नेपालको आग्रहमा गत डिसेम्बरदेखि यस विषयमा वार्ता भइरहेको र यसपटक भारतले भारुमा कारोबार गर्न सकिने विकल्प स्वीकार गरेको उनले बताए। यसलाई नेपालका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने उनको भनाइ छ।

    समिति बैठकमा नेकपा एमालेका सांसद डा. पुष्पराज कँडेलले १ खर्ब ८४ अर्ब रुपैयाँको ऋण कति वर्षका लागि र कति ब्याजदरमा उपलब्ध हुने हो भन्ने प्रश्न गरेका थिए। नेपाली कांग्रेसका सांसदहरूले पनि भारतीय मुद्रामै ऋण लिएर त्यही मुद्रामै फिर्ता गर्नुपर्ने हो कि भन्ने जिज्ञासा राखेका थिए।

    नेपालले आयात भुक्तानीका लागि हरेक वर्ष अमेरिकी डलर साटेर भारतीय रुपैयाँ खरिद गर्नुपर्ने अवस्थालाई उल्लेख गर्दै सांसदहरूले भारुमा ऋण भुक्तानी गर्दा पर्ने प्रभावबारे स्पष्ट पार्न माग गरेका थिए।

    अर्थमन्त्री वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाललाई यसअघि यति ठूलो आर्थिक सहयोग प्याकेज उपलब्ध नगराइएको उल्लेख गरेको जानकारी दिँदै भारत सरकारप्रति आभार व्यक्त गरिएको बताए।