विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि बागमती सरकारले ६ अर्ब खर्च गर्ने - Chaitanya News
  • 2026-11-24
  • 12:07:38
  • मंगलबार,मंसिर ०९, २०८३
  • विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि बागमती सरकारले ६ अर्ब खर्च गर्ने

    विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि बागमती सरकारले ६ अर्ब खर्च गर्ने

    ललितपुर– बागमती प्रदेश सरकारले बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि ६ अर्ब रुपैयाँ परिचालन गर्ने भएको छ।

    प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रभावित क्षेत्रको पुनर्निर्माणसँगै विस्थापित नागरिकको पुनःस्थापना र जीविकोपार्जनलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताएका हुन्।

    आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी समन्वय बैठकमा मुख्यमन्त्री थापा मगरले विभिन्न क्षेत्रका कम प्राथमिकताका योजना कटौती गरेर आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिए।

    उनका अनुसार विपद् कोषमा रहेको १० करोड पाँच लाख रुपैयाँ तत्काल खर्च हुने अवस्था आएपछि चालु आर्थिक वर्षका कम प्राथमिकताका विकास योजना कटौती गरी प्रत्येक मन्त्रालयबाट १० देखि २० प्रतिशतसम्म बजेट व्यवस्थापन गरिएको छ।

    मुख्यमन्त्री थापा मगरले प्रभावित क्षेत्रमा सडक, पुल, बस्ती व्यवस्थापन, व्यवसायको पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताए।

    गत भदौ १० गते आएको बाढीपछि प्रदेश सरकारले विपद् परिषद्को बैठकमार्फत खोज तथा उद्धार, उपचार, राहत वितरण र वैकल्पिक सडक सञ्चालनका काम तत्काल सुरु गरेको उनले स्मरण गरे।

    प्रभावित नागरिकको आवश्यकता र मागअनुसार स्थानीय तहसँग समन्वय गरेर योजनाबद्ध रूपमा बजेट कार्यान्वयन गरिने उनको भनाइ छ।

    विपद् व्यवस्थापन तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच साझा लक्ष्य र योजनाका साथ अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए। तीनै तहका सरकारबीच समन्वय अभाव भए अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुने मुख्यमन्त्री थापा मगरले बताए।

    प्रभावित नागरिकले भोग्नुपरेको पीडाप्रति प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले सीमित स्रोतसाधनका बाबजुद उद्धार, राहत र व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने स्थानीय जनप्रतिनिधिको योगदानको प्रशंसा गरे।