काठमाडौँ — भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को क्याम्पस स्थापना गर्ने घोषणा गरेसँगै नेपाल विदेशमा आईआईटीको अफसोर क्याम्पस सञ्चालन हुने तेस्रो देश बन्ने भएको छ। यसअघि अफ्रिकी मुलुक तान्जानिया र संयुक्त अरब इमिरेट्स (यूएई) मा भारतका प्रतिष्ठित आईआईटी संस्थानले आफ्ना विदेशी क्याम्पस सञ्चालनमा ल्याइसकेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटी क्याम्पस स्थापना गर्ने घोषणा गरेका हुन्। सोही अवसरमा नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँ बराबरको आर्थिक प्याकेज उपलब्ध गराउने घोषणा पनि गरिएको थियो। आईआईटी क्याम्पस स्थापनासम्बन्धी विषय नेपाल र भारतबीच जारी संयुक्त प्रेस वक्तव्यमा समेत समेटिएको छ।
भारतका आईआईटी संस्थानले पछिल्लो समय आफ्नो शैक्षिक पहुँच अन्तर्राष्ट्रियस्तरमा विस्तार गरिरहेका छन् । हालसम्म भारतका दुई आईआईटीले विदेशमा क्याम्पस स्थापना गरिसकेका छन्।
तान्जानियामा पहिलो विदेशी क्याम्पस:
भारतबाहिर पहिलो आईआईटी क्याम्पस सन् २०२३ मा अफ्रिकी मुलुक तान्जानियाको जान्जिबारमा स्थापना भएको थियो। आईआईटी मद्रासले त्यहाँ आफ्नो विदेशी क्याम्पस सञ्चालनमा ल्याएको हो।
जान्जिबारस्थित उक्त क्याम्पसमा डेटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत प्रविधिसँग सम्बन्धित विषयको अध्ययन हुँदै आएको छ । यसले अफ्रिकी क्षेत्रमा उच्च प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्य राखेको छ।
यूएईमा दोस्रो क्याम्पस:
विदेशमा दोस्रो आईआईटी क्याम्पस सन् २०२४ मा संयुक्त अरब इमिरेट्सको अबुधाबीमा स्थापना भएको थियो। आईआईटी दिल्लीले सञ्चालन गरेको उक्त क्याम्पसमा इन्जिनियरिङ, कम्प्युटर साइन्स, ऊर्जा तथा दिगोपनासँग सम्बन्धित विषयमा अध्ययन अध्यापन हुँदै आएको छ।
त्यहाँ स्नातक, स्नातकोत्तर र विद्यावारिधि (पीएचडी) तहका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।
नेपाल बन्नेछ तेस्रो देश:
तान्जानियाको जान्जिबार र यूएईको अबुधाबीपछि नेपालमा पनि आईआईटी क्याम्पस स्थापना हुने घोषणा भएसँगै भारतबाहिर यस्तो संस्थानको क्याम्पस रहने नेपाल तेस्रो देश बन्ने भएको हो।
भारतका प्रतिष्ठित प्राविधिक शैक्षिक संस्थाको उपस्थिति नेपालमा विस्तार हुनुले उच्च प्राविधिक शिक्षाको अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। यद्यपि नेपालमा स्थापना हुने क्याम्पसको स्थान, सञ्चालन मोडालिटी, शैक्षिक कार्यक्रम र कार्यतालिकाबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।