काठमाडौँ — लामो समयको प्रतीक्षापछि कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन्। प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि विभिन्न खेलका प्रतिस्पर्धा भने आजैदेखि सञ्चालन हुन लागेका हुन्।
दशौँ राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदित खेल तालिकाअनुसार प्रारम्भिक चरणमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीसहितका खेल सञ्चालन हुनेछन्। प्रतियोगिताअन्तर्गत आजदेखि विभिन्न खेलका खेलाडीले पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
कुल ३२ खेल समावेश गरिएको प्रतियोगिताका अधिकांश खेल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुनेछन्। निर्धारित तालिकाअनुसार २३ खेल सुर्खेतमा सञ्चालन हुनेछन्। जसमा एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रो रहेका छन्।
अन्य खेललाई विभिन्न जिल्लामा विभाजन गरिएको छ । टेनिस र खोखो बर्दियामा, जुडो र कुस्ती सल्यानमा, शारीरिक सुगठन पश्चिम रुकुममा तथा आईटीएफ तेक्वान्दो दैलेखमा आयोजना हुनेछन्। त्यसैगरी बुद्धिचाल कालिकोटमा तथा पौडी र सुटिङ नेपालगञ्जमा सञ्चालन गर्ने तय भएको छ।
प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा गरिएको आयोजकले जनाएको छ। विभिन्न प्रदेशबाट सहभागी हुने खेलाडीसमेत वीरेन्द्रनगर पुगिसकेका छन्। प्रतियोगिताका मुख्य खेलस्थलका रूपमा रहेको वीरेन्द्रनगरस्थित रंगशाला सोमबार हस्तान्तरण तथा उद्घाटन गरिएको छ। मुख्यमन्त्री मङ्गलबहादुर शाहीले रंगशालाको उद्घाटन गरेका हुन्।
राष्ट्रिय खेलकुदको प्रचारप्रसार र स्वागतका लागि वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित र्यालीसमेत निकालिएको थियो। र्यालीमा मुख्यमन्त्री शाही, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव रविन चन्द, खेलाडी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
लामो समयको प्रतीक्षापछि कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना हुन लागेकाले यसलाई प्रदेशका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा हुनेछन् भने उद्घाटन र समापन समारोह पनि वीरेन्द्रनगरस्थित रंगशालामै आयोजना गरिनेछ।
निर्धारित कार्यक्रमअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुनेछ भने समापन मङ्सिर २७ गते गर्ने तयारी छ।