गुरु नानकको जन्मजयन्ती आज मनाइँदै - Chaitanya News
  • 2026-11-24
  • 08:56:57
  • मंगलबार,मंसिर ०९, २०८३
  • गुरु नानकको जन्मजयन्ती आज मनाइँदै

    गुरु नानकको जन्मजयन्ती आज मनाइँदै

    काठमाडौँ — ‘ईश्वर एक हुन् र सबै मानव समान छन्’ भन्ने सन्देश दिएका शिख धर्मका संस्थापक गुरु नानकको जन्मजयन्ती आज विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम गरी मनाइँदै छ।

    हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरु नानकको जन्मजयन्ती श्रद्धा र भक्तिपूर्वक मनाउने परम्परा छ। यस अवसरमा विभिन्न स्थानका गुरुद्वारामा विशेष पूजाआजा, धार्मिक प्रवचन तथा सामूहिक भोजनलगायत कार्यक्रम आयोजना गरिएका छन्।

    गुरु नानकले समाजमा धार्मिक सहिष्णुता, मानव समानता, एकता र सद्भावको सन्देश दिएका थिए। उनले ईश्वर एउटै र सर्वशक्तिमान् रहेको उल्लेख गर्दै जात, धर्म तथा सामाजिक विभेदभन्दा माथि उठेर सबै मानिसलाई समान व्यवहार गर्नुपर्ने शिक्षा दिएका थिए।

    सन् १४६९ अप्रिल १५ मा पाकिस्तानको पञ्जाबस्थित तलवडीमा जन्मिएका गुरु नानकलाई शिख धर्मका संस्थापक तथा पहिलो गुरुका रूपमा सम्मान गरिन्छ। उनको जन्मस्थानलाई अहिले ननकाना साहिबका नामले चिनिन्छ। उनका अनुयायीले उनलाई बाबा नानक र नानकशाहका नामले समेत सम्बोधन गर्छन्।

    गुरु नानकले दिएका आध्यात्मिक तथा सामाजिक शिक्षाले शिख धर्मको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । उनले रचना गरेको ‘जपुजी साहिब’ शिख धर्मको प्रमुख धार्मिक ग्रन्थका रूपमा परिचित छ । शिख धर्मावलम्बीले यस ग्रन्थको नियमित पाठ तथा अध्ययन गर्ने गर्छन्।

    जन्मजयन्तीका अवसरमा गुरुद्वाराहरूमा धार्मिक ग्रन्थको पाठ, भजनकीर्तन, प्रवचन तथा विशेष प्रार्थना गरिन्छ । यस दिन श्रद्धालुहरूलाई सामूहिक रूपमा भोजन गराउने परम्परा पनि रहेको छ।

    गुरु नानकको जन्मजयन्तीले मानवता, समानता, सेवाभाव र आपसी सद्भावको महत्त्वलाई स्मरण गराउने धार्मिक पर्वका रूपमा विशेष महत्त्व राख्छ।