काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) लाई छैटौँ संस्करणसम्म ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित सरकारले क्रिकेट पूर्वाधार विस्तारको तयारी तीव्र बनाएको छ। यसका लागि रंगशाला निर्माण, स्तरोन्नति र निजी क्षेत्रसँगको साझेदारीमा लगानी जुटाउने विषयमा सरकारले गृहकार्य अघि बढाएको हो।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित मन्त्रालयमा बसेको बैठकमा देशभरका खेलमैदानलाई व्यवस्थित गर्दै प्रतियोगिता सञ्चालनयोग्य बनाउने विषयमा छलफल भएको छ।
बैठकमा रंगशाला निर्माणका लागि लगानीको ढाँचा, जग्गा लिजमा दिने प्रक्रिया तथा आवश्यक प्राविधिक मापदण्डबारे विभिन्न विकल्पमाथि विमर्श भएको थियो।
सरकारले सीमित बजेटबाट मैदान सम्याउनेलगायतका आधारभूत पूर्वाधार तयार गरेर निजी क्षेत्र वा सम्बन्धित सरोकारवालालाई सर्तसहित लिजमा दिने एउटा विकल्प अघि सारेको छ। अर्को विकल्पमा भने सरकारले जग्गा लिजमा उपलब्ध गराउने र सम्पूर्ण निर्माण तथा स्तरोन्नतिको जिम्मेवारी निजी क्षेत्रलाई दिने विषय समेटिएको छ।
मन्त्री पोखरेलले खेलकुद पूर्वाधार निर्माणमा सरकारको मात्रै लगानी पर्याप्त नहुने भन्दै निजी क्षेत्रसँगको साझेदारी आवश्यक रहेको बताए।
उनले आधारभूत पूर्वाधार निर्माणमा सरकारले सहयोग गरेर निजी क्षेत्रलाई थप लगानीका लागि सहज वातावरण बनाउन सकिने धारणा राखे। फाप्ला रंगशालाको टेन्डर प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै उनले यही हप्ताभित्र नेपाल प्रिमियर लिगका सम्बन्धित टोलीका सञ्चालकहरूसँग छलफल गरी उनीहरूको आवश्यकता बुझेर लिज सम्झौताको प्रक्रिया अघि बढाउने बताए।
सरकारको तयारी एनपीएललाई प्रतियोगितामा सीमित नराखी विभिन्न सहरमा नियमित क्रिकेट गतिविधि विस्तार गर्ने योजनासँग पनि जोडिएको छ।
बैठकमा एनपीएलको छैटौँ संस्करणसम्म ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्न आवश्यक प्राविधिक तथा व्यावहारिक पक्षबारे समेत छलफल भएको थियो। यस प्रणालीमा सहभागी टोलीले आफ्नै घरेलु मैदानमा खेल खेल्न पाउने भएकाले देशका विभिन्न सहरमा स्तरीय रंगशाला र खेल पूर्वाधार आवश्यक पर्ने देखिएको छ।
तर क्रिकेटमा प्रयोग हुने रिभ्यु प्रणालीलगायतका प्रविधि फुटबलको तुलनामा महँगो हुने भएकाले एकैपटक आठवटै मैदानमा सबै सुविधा उपलब्ध गराउन चुनौती रहेको बैठकमा औँल्याइएको थियो। त्यसैले ठूला सहरबाट क्रमशः आवश्यक प्रविधि तथा पूर्वाधार विस्तार गर्दै लैजाने विषयमा छलफल भएको छ।
बैठकमा रंगशालालाई ठूला प्रतियोगिता आयोजना गर्ने स्थलका रूपमा मात्रै विकास नगरी दैनिक अभ्यास, क्रिकेट एकेडेमी सञ्चालन, स्थानीय लिग तथा ग्रासरुट तहका खेल गतिविधिको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा समेत जोड दिइएको थियो।
सरकारको यो पहल कार्यान्वयनमा गए एनपीएलका खेल केही सीमित रंगशालामा मात्र केन्द्रित नरही विभिन्न सहरमा विस्तार हुने आधार तयार हुन सक्छ। यसले स्थानीय खेलाडीलाई आफ्नै क्षेत्रमा अभ्यास र प्रतिस्पर्धाको अवसर उपलब्ध गराउनुका साथै खेलकुदमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ।