दुई तिहाइको जनादेशअनुसार बालेन्द्रको भारत भ्रमणमा उपलब्धि देखिएन : एमाले - Chaitanya News
  • 2026-11-23
  • 16:27:15
  • सोमबार,मंसिर ०८, २०८३
  • दुई तिहाइको जनादेशअनुसार बालेन्द्रको भारत भ्रमणमा उपलब्धि देखिएन : एमाले

    दुई तिहाइको जनादेशअनुसार बालेन्द्रको भारत भ्रमणमा उपलब्धि देखिएन : एमाले

    काठमाडौँ — नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट अपेक्षा गरिएअनुसारको नीतिगत तथा कूटनीतिक परिवर्तन देखिन नसकेको टिप्पणी गरेका छन्। उनले भ्रमणमा नयाँ उपलब्धिभन्दा विगतमा अघि बढाइएका आयोजना र सहकार्यका विषयले नै निरन्तरता पाएको बताएका हुन्।

    सोमबार भारत भ्रमणका क्रममा भएका द्विपक्षीय सम्झौता र सहमतिबारे प्रतिक्रिया दिँदै भट्टराईले प्रधानमन्त्री शाहले विगतको निरन्तरताभन्दा फरक उपलब्धि हासिल गर्ने अपेक्षा पूरा गर्न नसकेको धारणा राखे।

    उनका अनुसार भ्रमणका क्रममा पहिले नै सुरु भएका आयोजनाको शिलान्यास र सम्पन्न आयोजनाको उद्घाटनलाई प्राथमिकता दिइएको छ। विगतका सरकारले अघि बढाएका योजनालाई निरन्तरता दिनु सकारात्मक भए पनि त्यसलाई मात्रै नयाँ उपलब्धिका रूपमा व्याख्या गर्न नसकिने उनको टिप्पणी छ।

    भ्रमणका क्रममा दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहयोग घोषणा हुनुलाई भने उनले सकारात्मक रूपमा लिएका छन्। आर्थिक चुनौतीको सामना गरिरहेको नेपालका लागि यस्तो सहयोग महत्त्वपूर्ण हुन सक्ने उनको भनाइ छ। तर, उक्त रकम ऋण हो वा अनुदान भन्ने विषय स्पष्ट नभएको भन्दै उनले सहयोगको वास्तविक स्वरूप र कार्यान्वयनमा चासो व्यक्त गरे।

    विगतमा पनि विभिन्न सहयोगका घोषणा भएअनुसार कार्यान्वयन हुन नसकेको उदाहरण दिँदै भट्टराईले यसपटकको प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन हुने अपेक्षा व्यक्त गरे।

    उनले क्रिकेट क्षेत्रमा सहकार्य विस्तार गर्ने तथा नेपालमा भारतीय पक्षबाट शाखा खोल्नेजस्ता विषयलाई नयाँ र सकारात्मक पहलका रूपमा उल्लेख गरे। विशेषगरी युवाहरूको चाहना र आवश्यकतासँग जोडिएका यस्ता विषय स्वागतयोग्य भए पनि समग्र भ्रमणमा नयाँपनको अभाव देखिएको उनको विश्लेषण छ।

    भट्टराईले प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्त्वपूर्ण मुद्दालाई पर्याप्त प्राथमिकता दिन नसकेको आरोपसमेत लगाए। झन्डै दुई तिहाइको जनादेशसहित भारत पुगेका प्रधानमन्त्रीले लामो समयदेखि उठ्दै आएका हवाई मार्ग, जलस्रोत, विद्युत् व्यापार र सीमा समस्यालाई वार्ताको मुख्य विषय बनाउनुपर्ने उनको भनाइ छ।

    संसद्बाट समेत सर्वसम्मत रूपमा पारित भएका हवाई मार्गलगायतका विषयमा ठोस उपलब्धि हासिल हुन नसकेको भन्दै उनले असन्तुष्टि जनाए। त्यस्तै, तराई क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको डुबान समस्यालाई पनि भ्रमणको प्राथमिकतामा राख्न नसकिएको उनले बताए।

    रातोपाटीसँग कुरा गर्दै भट्टराईले प्रधानमन्त्री शाहको विगतको राजनीतिक अभिव्यक्ति र अहिलेको कार्यशैलीबीच समेत अन्तर देखिएको टिप्पणी गरे। मेयर हुँदा सीमा लगायतका राष्ट्रिय मुद्दामा शाहले राखेका धारणा प्रधानमन्त्री बनेपछि व्यवहारमा प्रतिबिम्बित हुन नसकेको उनको आरोप छ।

    ‘विगतको भारी बोक्दिनँ भन्ने तर विगतमै अगाडि बढेका सबै आयोजनाहरू उद्घाटन गर्ने कार्यले प्रधानमन्त्रीको भनाइ र गराइबीच तालमेल मिलेन,’ भट्टराईले भने।

    उनले प्रधानमन्त्रीले विगतमा उठाएका राष्ट्रिय मुद्दालाई अहिलेको भ्रमणमा प्रभावकारी रूपमा अघि बढाउन नसकेको उल्लेख गर्दै अपेक्षित ‘डिपार्चर’ देखिन नसकेको निष्कर्ष सुनाए।