नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री शाहको जोड - Chaitanya News
  • 2026-11-23
  • 14:56:33
  • सोमबार,मंसिर ०८, २०८३
  • नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री शाहको जोड

    नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री शाहको जोड

    काठमाडौँ — प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताएका छन्। उनले दुई देशबिचको सम्बन्धलाई हिमालयजत्तिकै अटल र महासागरजत्तिकै विशाल रहेको उल्लेख गर्दै यसलाई आगामी पुस्ताका लागि अवसर सिर्जना गर्ने विकास साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धको आधार आपसी सम्मान, अटल विश्वास र अटुट सद्भाव रहेको बताए। उनका अनुसार दुई देशबिचको सम्बन्धको केन्द्रमा दुवै देशका जनता छन् र यो आत्मीयता शब्दमा मात्र सीमित गर्न नसकिने खालको छ।

    प्रधानमन्त्री शाहले प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा भारतले भरपर्दो छिमेकीका रूपमा नेपाललाई सहयोग गर्दै आएको भन्दै भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरे। उनले भगवान् पशुपतिनाथ, माता जानकी र करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद तथा नेपाली जनताको सद्भाव बोकेर आफू भारत आएको पनि बताए।

    उनका अनुसार हालै सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्षबारे स्पष्ट र अग्रगामी छलफल भएको छ। वार्ताका क्रममा प्रमुख पूर्वाधार परियोजनाको उद्घाटन तथा शिलान्यास हुनुका साथै विभिन्न क्षेत्रमा महत्त्वपूर्ण समझदारीसमेत भएका छन्।

    प्रधानमन्त्री शाहले दुई देशबिच भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रत्यक्ष लाभ सर्वसाधारणले पाउनुपर्ने बताए। ती सहकार्य किसानका खेतबारीमा समृद्धि, युवाका हातमा रोजगारी र अवसर, विद्यार्थीका सपनामा नयाँ सम्भावना तथा उद्यमीका लागि बजार र लगानी विस्तारको माध्यम बन्नुपर्ने उनको भनाइ थियो।

    उनले नेपाल र भारतबिचको सहकार्यलाई जलवायु परिवर्तनका चुनौती सामना गर्ने साझा प्रयाससँग पनि जोडे। हिमालबाट उत्पन्न स्वच्छ पानीका स्रोतले यस क्षेत्रका करोडौँ मानिसको जीवन धानिरहेको उल्लेख गर्दै हिमालयबाट गङ्गामा मिसिने नदीहरूले दुवै देशको साझा भविष्य र नियतिको स्मरण गराउने बताए। जलवायु परिवर्तनको चुनौती सामना गर्न सामूहिक प्रयास अपरिहार्य रहेको उनको भनाइ थियो।

    प्रधानमन्त्री शाहले नेपाल र भारतबिचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई अझ जीवन्त बनाउन रेल कनेक्टिभिटीको उद्घाटन महत्त्वपूर्ण कदम भएको बताए। पूर्वजहरूले निर्माण गरेको सम्बन्धको बलियो जगमा उभिएर अबको पुस्ताका लागि अवसरका ढोका खोल्ने विकास साझेदारी निर्माण गर्नुपर्ने उनले उल्लेख गरे।

    आर्थिक सहकार्य विस्तारका सन्दर्भमा प्रधानमन्त्री शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न स्वागत गरे। उनले दुवै देशको आर्थिक समृद्धिमा साझेदार बन्न भारतीय उद्यमी तथा लगानीकर्तालाई आह्वान गरेका हुन्।

    त्यसैगरी, नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आइआइटी) मा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न सक्ने वातावरण बनाउनुपर्ने र दुवै देशका नागरिकको सुविधाका लागि सहरहरूबिच सिधा हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

    प्रधानमन्त्री शाहले साझा समृद्धिको लक्ष्यलाई अघि बढाउन नेपाल र भारतले संयुक्त दृष्टिकोण दस्ताबेज प्रस्तुत गर्ने जानकारीसमेत दिए। संयुक्त प्रेस विज्ञप्तिमार्फत दुई देशबिच भएका सहमति र उपलब्धिहरू सार्वजनिक गरिने उनले बताए।

    सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। साथै, भारतीय नागरिकलाई मुक्तिनाथ, पशुपतिनाथ, माता जानकीको पावन भूमि, जीवित देवी कुमारी तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न आमन्त्रण गरेका छन्।

    उनले नेपाल–भारत मित्रता हिमालयजत्तिकै अग्लो विश्वास, नदीजस्तै निरन्तर सहकार्य र साझा आकाशमुनि दुवै राष्ट्रको समृद्धि फस्टाउने सम्बन्धका रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।