पेट्रोलियम ढुवानी लागत घटाउने लक्ष्य, सिलिगुडी–झापा टर्मिनलको शिलान्यास - Chaitanya News
  • 2026-11-23
  • 14:56:33
  • सोमबार,मंसिर ०८, २०८३
  • पेट्रोलियम ढुवानी लागत घटाउने लक्ष्य, सिलिगुडी–झापा टर्मिनलको शिलान्यास

    पेट्रोलियम ढुवानी लागत घटाउने लक्ष्य, सिलिगुडी–झापा टर्मिनलको शिलान्यास

    काठमाडौँ — नेपालको पेट्रोलियम पदार्थको ढुवानी लागत घटाउने र इन्धन आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यले भारतसँगको सहकार्यमा अघि बढाइएका दुई ठूला पेट्रोलियम पूर्वाधार परियोजनाले गति लिएका छन्। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको दुईदिने भारत भ्रमणका क्रममा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरिएको छ भने सिलिगुडी–झापा पेट्रोलियम भण्डारण टर्मिनलको शिलान्यास गरिएको छ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शाहले रिमोटमार्फत भर्चुअल रूपमा संयुक्त उद्घाटन गरेपछि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरिएको हो।

    त्यसैगरी भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम आपूर्ति पूर्वाधार विस्तार गर्ने उद्देश्यले सिलिगुडी–झापा पेट्रोलियम भण्डारण तथा ग्रिनफिल्ड टर्मिनल परियोजनाको पनि शिलान्यास गरिएको छ।

    उक्त परियोजनाको प्रारम्भिक लागत करिब १२ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ अनुमान गरिएको छ। यसमध्ये पाइपलाइन निर्माणमा २ अर्ब ७८ करोड भारतीय रुपैयाँ र टर्मिनल निर्माणमा ५ अर्ब भारतीय रुपैयाँ खर्च हुने अनुमान छ। परियोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    आयोजना सम्पन्न भएपछि पेट्रोलियम पदार्थको ढुवानी खर्च ४० देखि ५० प्रतिशतसम्म घट्न सक्ने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनले देखाएको छ।

    नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) को साझेदारीमा यी दुवै परियोजना अघि बढाइएका हुन्। परियोजना सञ्चालनमा आएपछि पेट्रोलियम पदार्थको ढुवानीमा लाग्ने समय तथा खर्च घट्नुका साथै इन्धन आपूर्तिलाई थप सहज र भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    विशेषगरी नयाँ पाइपलाइन तथा भण्डारण पूर्वाधारले नेपालको इन्धन आपूर्ति प्रणालीको क्षमता विस्तार गर्ने र ऊर्जा सुरक्षालाई मजबुत बनाउने अपेक्षा गरिएको छ। यी परियोजनाको कार्यान्वयनले नेपाल–भारतबीचको पेट्रोलियम पूर्वाधार तथा ऊर्जा सहकार्यलाई समेत थप विस्तार गर्नेछ।