६६९ मेगावाटको तल्लो अरुण आयोजना अघि बढ्यो, शाह र मोदीले गरे संयुक्त शिलान्यास - Chaitanya News
  • 2026-11-23
  • 14:58:34
  • सोमबार,मंसिर ०८, २०८३
  • ६६९ मेगावाटको तल्लो अरुण आयोजना अघि बढ्यो, शाह र मोदीले गरे संयुक्त शिलान्यास

    ६६९ मेगावाटको तल्लो अरुण आयोजना अघि बढ्यो, शाह र मोदीले गरे संयुक्त शिलान्यास

    काठमाडौँ — नेपाल र भारतबीचको ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने लक्ष्यसहित अघि बढाइएको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरिएको छ। नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजकीय भ्रमणका क्रममा भर्चुअल माध्यमबाट आयोजनाको शिलान्यास गरेका हुन्।

    सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने उक्त आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। आयोजनाको निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य विस्तार तथा नेपालको जलविद्युत् उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजना निर्माण गर्न लागिएको हो। आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) ढाँचामा विकास गरिनेछ।

    आयोजना विकास सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ। त्यस्तै, २५ वर्षको व्यावसायिक सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिने व्यवस्था गरिएको छ।

    तल्लो अरुण जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनीमार्फत विकास भइरहेको छ। नेपाल सरकारको लगानी बोर्ड र आयोजना विकास कम्पनीबीच सन् २०२३ जुन १ मा आयोजना विकास सम्झौता भएको थियो।

    आयोजनाको अर्को विशेषता अरुण–३ जलविद्युत् आयोजनासँगको अन्तरसम्बन्ध हो। अरुण–३ बाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई करिब १७.३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्‍याएर थप विद्युत् उत्पादन गर्ने योजना छ।

    आयोजना निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा प्रभावित परिवारलाई मुआब्जा वितरणको कामसमेत अघि बढाइएको छ। आयोजना विकास कम्पनीका अनुसार प्रत्यक्ष प्रभावित २६८ परिवारमध्ये हालसम्म २५३ परिवारलाई करिब ९९ करोड ९८ लाख रुपैयाँ मुआब्जा वितरण गरिसकिएको छ।

    आयोजना सञ्चालनमा आएपछि नेपालले निःशुल्क विद्युत्का अतिरिक्त रोयल्टी, कर तथा अन्य आर्थिक लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ। साथै, निर्माण अवधिमा रोजगारी सिर्जना, स्थानीय पूर्वाधार विकास र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

    प्रधानमन्त्री शाह र मोदीको संयुक्त शिलान्याससँगै नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत अघि बढाइएको तल्लो अरुण आयोजनाको निर्माण प्रक्रिया थप अगाडि बढ्ने अपेक्षा गरिएको छ।