नारायणघाट–बुटवल सडकको डिभाइडरमा दुबो रोपिँदै, सौन्दर्यीकरणको काम तीव्र - Chaitanya News
  • 2026-11-24
  • 08:56:58
  • मंगलबार,मंसिर ०९, २०८३
  • नारायणघाट–बुटवल सडकको डिभाइडरमा दुबो रोपिँदै, सौन्दर्यीकरणको काम तीव्र

    नारायणघाट–बुटवल सडकको डिभाइडरमा दुबो रोपिँदै, सौन्दर्यीकरणको काम तीव्र

    नवलपुर — नारायणघाट–बुटवल सडक विस्तारको मुख्य काम सम्पन्न भएसँगै अहिले सडकलाई आकर्षक र व्यवस्थित बनाउने कामले तीव्रता पाएको छ। चार लेनमा विस्तार गरिएको सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्ने तथा सडक किनारमा सौन्दर्यीकरणका काम सुरु गरिएको हो।

    करिब ११३ किलोमिटर लामो सडकको बीचमा रहेको तीन मिटर चौडा डिभाइडरमा दुबो रोप्ने काम भइरहेको छ। नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार गैँडाकोट, देवचुली, कावासोतीलगायत विभिन्न स्थानमा डिभाइडरमा दुबो रोप्ने काम भइरहेको छ।

    उनका अनुसार सडकको कालोपत्र गर्ने काम लगभग सम्पन्न भइसकेको छ। अहिले सडक किनारका सर्भिस लेन, डिभाइडरमा रङरोगन, पैदलयात्रीका लागि पेटी निर्माण, रेलिङ राख्ने तथा सडकलाई हरियाली र सुन्दर बनाउन बिरुवा रोप्ने काम भइरहेको छ।

    विसं २०१८ मा तत्कालीन राजा महेन्द्र शाहले नवलपुरको गैँडाकोटमा शिलान्यास गरी सुरु गरेको पूर्वपश्चिम राजमार्ग करिब ६५ वर्षपछि चार लेनमा विस्तार भएको हो। नारायणघाट–बुटवल सडक विस्तारका लागि २०७५ माघमा सम्झौता भएको थियो भने सोही वर्षको चैतमा शिलान्यास गरी निर्माण सुरु गरिएको थियो।

    सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि विभिन्न कारणले चार पटक म्याद थप गर्नुपरेको थियो। करिब आठ वर्ष लगाएर सडक विस्तारको काम गत साउनमा पूरा भएको सूचना अधिकारी खनालले बताए।

    उनका अनुसार सडकको मुख्य निर्माण कार्य सम्पन्न भएपछि गत साउनमै आयोजनाले सडक टेकओभर गरिसकेको छ। तर, सडक औपचारिक रूपमा हस्तान्तरण भने भइसकेको छैन।

    “सडकको लगभग काम सकिएपछि हामीले साउनमा टेकओभर गरिसकेका छौँ। सडक टेकओभर मात्र भएको हो, हस्तान्तरण भने भएको छैन। टेकओभरपछि पाँच वर्षसम्म निर्माण कम्पनीले देखिएका त्रुटि सच्याउने काम गर्नुपर्छ । त्यसपछि मात्रै हस्तान्तरण हुन्छ”, खनालले भने।

    निर्माण सम्पन्न भएपछि तत्काल नदेखिने प्राविधिक समस्या तथा त्रुटि पनि आउन सक्ने भएकाले पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मत तथा सुधार गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

    सडक विस्तारको ठेक्का दुई खण्डमा विभाजन गरेर लगाइएको थियो। गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्मको ४८ किलोमिटर पश्चिम खण्डमा विभाजन गरी निर्माण गरिएको हो । दुवै खण्डको ठेक्का ग्लोबल टेन्डरमार्फत चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो।

    सडक विस्तारका लागि करिब १७ अर्ब रुपैयाँ खर्च भएको छ। कुल बजेटको ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडिबी)ले १.५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो।

    आयोजनाअन्तर्गत ७० किलोमिटर सडक चार लेनमा, २९ किलोमिटर छ लेनमा र दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनमा निर्माण गरिएको छ । सहरी क्षेत्रमा सवारी चाप र आवागमनलाई ध्यान दिँदै छ लेनमा विस्तार गरिएको छ भने ग्रामीण तथा वन क्षेत्रमा चार लेनको सडक निर्माण गरिएको छ। दाउन्नेको भौगोलिक कठिनाइ भएका क्षेत्रमा तीन लेनको सडक बनाइएको छ ।

    सडकलाई सुरक्षित बनाउन लेन मार्किङ, ट्राफिक संकेत, गति सीमा संकेत तथा सवारीसाधनको गति निगरानीका लागि स्पिड गन प्रयोग गर्ने व्यवस्था पनि गरिएको छ। सूचना अधिकारी खनालका अनुसार खुला तथा सिधा सडकमा अधिकतम ८० किलोमिटर प्रतिघण्टा, बजार क्षेत्र तथा क्रसिङमा ६० किलोमिटर प्रतिघण्टा र जंगली क्षेत्र तथा दाउन्नेको पहाडी क्षेत्रमा ४० किलोमिटर प्रतिघण्टाको गति सीमा तोकिएको छ।

    दाउन्ने क्षेत्रमा पटकपटक कालोपत्र गर्दा सडक बिग्रने र भासिने समस्या देखिएपछि करिब ११ किलोमिटर सडकमा सिमेन्ट कङ्क्रिट प्रयोग गरिएको छ। सडक विस्तारका क्रममा गैँडाकोटदेखि बुटवलसम्म ४९ हजार ८३० वटा रुख काटिएका थिए।

    विस्तारित सडकमा यातायातलाई सहज बनाउन २१ वटा ठूला पुल, ४३ वटा साना पुल र पानी निकासका लागि ४६ वटा कल्भर्ट निर्माण गरिएको छ । साना पुल तथा कल्भर्ट चार लेनअनुसार निर्माण गरिएका छन् भने ठूला पुलहरू पुराना पुलको दक्षिणतर्फ दुई लेनमा तयार पारिएका छन्। पुराना पुलको प्राविधिक अवस्था र आवश्यकताअनुसार स्तरोन्नति तथा प्रतिस्थापन गरिएको सूचना अधिकारी खनालले बताए।

    सडकको मुख्य निर्माणसँगै अहिले बाँकी रहेका सुधारका काम र सौन्दर्यीकरणलाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ।