काठमाडौँ — प्रतिनिधिसभाअन्तर्गतका पाँच संसदीय समितिले आज विभिन्न विधेयक तथा सार्वजनिक सरोकारका विषयमा छलफल गर्ने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार अर्थ, उद्योग वाणिज्य तथा श्रम र उपभोक्ता हित, महिला तथा सामाजिक, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिका बैठक बस्न लागेका हुन्।
आजका बैठकमा अर्थसम्बन्धी कानुन संशोधन, बालश्रम नियन्त्रण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, चलचित्र क्षेत्रको कानुनी व्यवस्था र विकास आयोजनासम्बन्धी विषयले प्राथमिकता पाउनेछन्।
बिहान ९ बजे बस्ने महिला तथा सामाजिक समितिको बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल हुनेछ। समितिमा छलफलका लागि प्राप्त उक्त विधेयकका विभिन्न प्रावधानमाथि सांसदहरूले धारणा राख्नेछन्।
त्यस्तै, बिहान ९ः३० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका विषयमा छलफल गर्ने कार्यसूची छ। यसका साथै नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारसम्बन्धी समितिमा प्राप्त उजुरीमाथि पनि छलफल हुनेछ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ माथि दफावार छलफल गरिनेछ। विधेयकमा प्रस्तावित कानुनी व्यवस्था, संशोधनका प्रावधान तथा खारेज गर्न प्रस्ताव गरिएका कानुनका विषयमा समितिले विस्तृत छलफल गर्नेछ।
सोही समयमा बस्ने उद्योग वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बैठकमा ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ। बालश्रमसम्बन्धी कानुनी व्यवस्था र विधेयकका मूल प्रावधानमाथि सांसदहरूले विचार राख्ने कार्यक्रम रहेको छ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। उक्त बैठकमा ‘चलचित्र विधेयक, २०८१’ माथि संशोधन प्रस्ताव राख्ने सांसदहरूसँग छलफल गर्ने कार्यसूची तय गरिएको छ।
संसदीय समितिका आजका बैठकमा विभिन्न विधेयकका प्रावधानमाथि छलफलसँगै विकास आयोजना र सार्वजनिक संस्थानसँग सम्बन्धित उजुरीका विषयसमेत उठ्ने भएका छन्।