काठमाडौँ– भारतको अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको सरयू कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित सञ्चालन गरिएको रेल जनकपुर आइपुग्दा भव्य स्वागत गरिएको हो।
रेलमा सवार तीर्थयात्रीलाई स्वागत गर्न सरकारी प्रतिनिधि तथा सर्वसाधारण नेपाली र भारतीय राष्ट्रिय झण्डासहित जनकपुरधाम रेल्वे स्टेसन पुगेका थिए। उनीहरूले रेल र यात्रुहरूको स्वागत गर्दै नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको झल्को दिएका थिए।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीबाट प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा झण्डा देखाएर रेललाई बिदाइ गरेका थिए। त्यसपछि अयोध्याबाट जनकपुरधामका लागि छुटेको रेल मंगलबार बिहान आफ्नो गन्तव्यमा आइपुगेको हो।
नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको रोटीबेटीको सम्बन्धलाई धार्मिक पर्यटनमार्फत थप मजबुत बनाउने लक्ष्यसहित जनकपुरधाम र अयोध्यालाई रेल सेवामार्फत जोडिएको हो। यसले दुवै देशका तीर्थयात्रीलाई धार्मिक स्थलको भ्रमण सहज बनाउनुका साथै दुई देशबीचको सांस्कृतिक सम्बन्ध विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।