सुनकोशी–मरिणको ठेक्का रद्द प्रकरणमा लेखा समितिको चासो, ७ दिनभित्र कागजात माग - Chaitanya News
  • 2026-11-24
  • 11:51:26
  • मंगलबार,मंसिर ०९, २०८३
  • सुनकोशी–मरिणको ठेक्का रद्द प्रकरणमा लेखा समितिको चासो, ७ दिनभित्र कागजात माग

    सुनकोशी–मरिणको ठेक्का रद्द प्रकरणमा लेखा समितिको चासो, ७ दिनभित्र कागजात माग

    काठमाडौं– सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने निर्णयमाथि संसदीय छानबिन अघि बढाउने तयारी भएको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले ठेक्का रद्दसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन जलस्रोत तथा सिँचाइ विभागलाई निर्देशन दिएको छ।

    आयोजनाको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेपछि रद्द गरिएको विषयमा उजुरी परेपछि समितिले चासो देखाएको हो। समितिको बैठकमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल भएको थियो।

    छलफलपछि समिति सभापति भरतबहादुर खड्काले ठेक्का रद्दसँग सम्बन्धित आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका हुन्। प्राप्त कागजात अध्ययन गरेपछि समितिले यस विषयमा थप छलफल अघि बढाउने उनले बताएका छन्।

    टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का अन्तिम समयमा रद्द गरिएको भन्दै समितिमा उजुरी परेको थियो । उजुरीकर्ताले उक्त निर्णय प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको दाबी गरेका छन्।

    यता, बैठकमा उपस्थित विभागका महानिर्देशक रजौरियाले भने ठेक्का रद्द गर्ने निर्णय कानुनसम्मत रहेको जिकिर गरेका छन्। ठेक्का रद्द गर्नुको आधार र निर्णय प्रक्रियाबारे समितिले मागेका कागजात प्राप्त भएपछि यस प्रकरणको थप पक्ष स्पष्ट हुने अपेक्षा गरिएको छ।

    सुनकोशी–मरिण डाइभर्सन आयोजना मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले अघि बढाइएको राष्ट्रिय गौरवको आयोजना हो। आयोजनामार्फत करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

    आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु २०८१ वैशाख २६ गते सम्पन्न भएको थियो। तर, सुरुङ निर्माणको महत्त्वपूर्ण चरण पूरा भए पनि त्यसपछिको कामले अपेक्षित गति लिन सकेको छैन। यस्तो अवस्थामा ठेक्का रद्दसम्बन्धी विवादले आयोजनाको आगामी कार्यान्वयन प्रक्रियामाथि थप प्रश्न उठाएको छ।