नयाँ कानुन थप्ने होइन, पुराना हटाउने बेला भयो : अर्थमन्त्री वाग्ले - Chaitanya News
  • 2026-11-24
  • 13:12:33
  • मंगलबार,मंसिर ०९, २०८३
  • नयाँ कानुन थप्ने होइन, पुराना हटाउने बेला भयो : अर्थमन्त्री वाग्ले

    नयाँ कानुन थप्ने होइन, पुराना हटाउने बेला भयो : अर्थमन्त्री वाग्ले

    काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रमा नियामकीय बोझ बढाउने तथा समयसापेक्ष नरहेका पुराना कानुन खारेज गरी आर्थिक गतिविधि सहज बनाउने गरी कानुनी सुधार अघि बढाउनुपर्ने बताएका छन्।

    मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

    अर्थमन्त्री वाग्लेले नयाँ कानुन निर्माण गर्ने तर पुराना कानुन संशोधन तथा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ सिर्जना गरेको बताए। विभिन्न अध्ययन तथा प्रतिवेदनले खारेज गर्न सुझाव दिएका १५ वटा ऐनको सुधार प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

    उनले अत्यधिक तथा एकआपसमा बाझिने कानुनी व्यवस्थाले आर्थिक गतिविधिमा अवरोध पुर्‍याउन सक्ने उल्लेख गर्दै पुराना र असान्दर्भिक कानुन खारेज गरी आवश्यक व्यवस्थालाई आधुनिक कानुनमा समेट्नुपर्ने बताए।

    अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयसँग सम्बन्धित प्रादेशिक विकास योजना कार्यान्वयन ऐन, २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट ऐन, २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ लगायतका कानुन खारेज गर्ने प्रस्ताव गरिएको जानकारी दिए।

    त्यस्तै मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०६२ मा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत अघि सारिएको छ।

    उनले नयाँ उपभोक्ता संरक्षणसम्बन्धी कानुन आइसकेको अवस्थामा कालोबजारी तथा टिकट टाँस्नेसम्बन्धी पुराना कानुनी व्यवस्थाको औचित्यसमेत पुनरावलोकन गर्नुपर्ने बताए।