काठमाडौं– १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशमाथि सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रतियोगिताको खेलमा आर्मीले कोशीले दिएको ६६ रनको सामान्य लक्ष्य १३.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। आर्मीले कोशीलाई ६ विकेटले पराजित गरेको हो।
आर्मीको जितमा विन्दु रावलले सर्वाधिक २१ रन बनाइन्। त्यस्तै रुबी पोद्दारले १८, कविता कुँवरले १२ र अञ्जली विश्वकर्माले ७ रनको योगदान गरिन्।
बलिङतर्फ कोशीकी रुविना क्षेत्रीले ३ विकेट लिइन् भने अलिश खडियाले एक विकेट हात पारिन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले ६५ रन मात्रै बनाउन सकेको थियो। कोशीका लागि रुविना क्षेत्रीले सर्वाधिक ३६ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
आर्मीको बलिङसामु दबाबमा परेको कोशीका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। कोशीलाई सस्तैमा समेट्ने क्रममा यमुना थारुले ४ विकेट लिइन्। मनीषा उपाध्यायले २ तथा कविता कुँवर, ईश्वरी विष्ट, लक्ष्मी साउद र संगीता गुरुङले समान १ विकेट लिए।
यस जितसँगै आर्मीले १०औँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा आफ्नो विजयी यात्रा सुरु गरेको छ।