चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 31 of 1151
  • 2026-11-20
  • 14:56:24
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

जलवायु नीतिमा बालबालिका र सीमान्तकृत समुदायको आवाज समेट्न सेभ द चिल्ड्रेनको आग्रह

काठमाडौँ– जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित बालबालिका, महिला तथा सीमान्तकृत समुदायको आवश्यकता सम्बोधन गर्न सामाजिक संरक्षणका कार्यक्रमलाई जलवायु नीति र योजनासँग जोड्नुपर्नेमा सेभ द चिल्ड्रेनले जोड दिएको छ। सेभ द चिल्ड्रेनकी कन्ट्री डाइरेक्टर तथा एआईएनको स्टेरिङ कमिटी सदस्य तारा क्षेत्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि पूर्वाधार निर्माण र विपद् पूर्वतयारीसँगै जोखिममा रहेका समुदायको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्। बिहीबार आयोजित राष्ट्रिय जलवायु सम्मेलन–२०२६ मा बोल्दै क्षेत्रीले जलवायु परिवर्तन नेपालको विकास, सामाजिक न्याय र बालअधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको चुनौती भएको उल्लेख गरिन्। नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि बाढी, पहिरो, खडेरी र चरम मौसमी घटनाको गम्भीर असर भोगिरहेको उनको भनाइ छ। जलवायु संकटका कारण लाखौँ बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र भविष्य प्रभावित भइरहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका लागि सबैभन्दा कम जिम्मेवार समुदायले नै यसको ठूलो भार बोक्नुपरेको बताइन्। त्यसैले जलवायुसम्बन्धी नीति, योजना र लगानी निर्माण गर्दा बालबालिका, महिला तथा सीमान्तकृत समुदायका आवश्यकता र आवाजलाई प्राथमिकतामा राख्नुपर्ने उनले जोड दिइन्। क्षेत्रीका अनुसार जलवायुजन्य विपद्ले परिवारको जीविकोपार्जनमा असर पार्नुका साथै बालबालिकालाई शिक्षा, स्वास्थ्य सेवा र सुरक्षाबाट वञ्चित गराउने जोखिम बढाएको छ। भोटेकोशी, त्रिशूलीलगायतका क्षेत्रमा भएका विपद्ले जलवायु संकट वातावरणीय समस्यामा मात्र सीमित नरहेको स्पष्ट पारेको उनले बताइन्। यो विकास, सामाजिक सुरक्षा र जलवायु न्यायसँग जोडिएको विषयसमेत भएको उनको भनाइ छ। विपद्का बेला तत्काल उद्धार र राहत उपलब्ध गराउनु आवश्यक भए पनि त्यसपछि प्रभावित परिवारको पुनःस्थापना, बाल संरक्षण, शिक्षामा निरन्तर पहुँच र आधारभूत सेवाको सुनिश्चितता पनि उत्तिकै महत्त्वपूर्ण रहेको क्षेत्रीले बताइन्। विपद्पछि मात्र सक्रिय हुने प्रणालीभन्दा पूर्वतयारी, जोखिम न्यूनीकरण र जलवायु अनुकूलनमा आधारित कार्यक्रम प्रभावकारी हुने उनले उल्लेख गरिन्। विगतका विपद्का समयमा नेपाल सरकार, स्थानीय तह, समुदाय र विकास साझेदारसँगको सहकार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले जीवनरक्षक सहायता, बाल संरक्षण, शिक्षा र पुनःस्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताइन्। अब यस्ता प्रयासलाई दीर्घकालीन जलवायु उत्थानशीलता निर्माणसँग जोड्नुपर्ने उनको भनाइ छ। आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, हानि तथा नोक्सानी, पर्याप्त जलवायु वित्त र बालबालिकामैत्री जलवायु नीतिका विषयलाई सशक्त रूपमा उठाउनुपर्ने क्षेत्रीले बताइन्। जलवायु परिवर्तनको असरबाट बढी प्रभावित समुदायले नै जलवायु वित्तको लाभ प्राप्त गर्ने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिइन्। ‘जलवायु परिवर्तन नेपालको विकास, सामाजिक न्याय र बालअधिकारसँग जोडिएको गम्भीर चुनौती हो,’ उनले भनिन्, ‘विपद्पछिको उद्धारमा मात्र सीमित नभई पूर्वतयारी, जोखिम न्यूनीकरण, बाल संरक्षण र जलवायु अनुकूलनमा जोड दिन आवश्यक छ।’ उनले जलवायु वित्तको प्रभावकारी परिचालनले जोखिममा रहेका परिवार तथा बालबालिकाको संरक्षणमा सहयोग पुग्ने बताइन्। जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम निर्माण र कार्यान्वयनमा स्थानीय समुदाय, बालबालिका र युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने पनि उनको भनाइ छ। क्षेत्रीले नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सरकार र अन्य साझेदारसँग सहकार्य गर्दै प्रमाणमा आधारित, समावेशी र बालकेन्द्रित जलवायु कार्य अघि बढाउन प्रतिबद्ध रहेको बताइन्। स्थानीय समुदाय र बालबालिकाका आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउनु साझा दायित्व भएको उनले उल्लेख गरिन्। राष्ट्रिय जलवायु सम्मेलनले कोप–३१ का लागि नेपालको साझा धारणा सुदृढ बनाउन र जलवायु प्राथमिकतामा सहकार्य विस्तार गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले हरेक बालबालिका सुरक्षित र उज्ज्वल भविष्यप्रति आशावादी हुन सक्ने जलवायु उत्थानशील नेपाल निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताइन्।

News by जलवायु नीतिमा बालबालिका र सीमान्तकृत समुदायको आवाज समेट्न सेभ द चिल्ड्रेनको आग्रह :