नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क, कुन सवारीलाई कति ? - Chaitanya News
  • 2026-10-29
  • 10:25:37
  • बिहिबार,कार्तिक १३, २०८३
  • नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क, कुन सवारीलाई कति ?

    नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क, कुन सवारीलाई कति ?

    काठमाडौँ — नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सूचना जारी गर्दै सवारीसाधनको वर्ग र यात्राको दिशाअनुसार शुल्क निर्धारण गरिएको जनाएको छ ।

    सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सुरुङमार्ग प्रयोग गर्ने हलुका सवारीदेखि ठूला मालवाहक सवारीसम्मका लागि फरक–फरक दर तोकिएको छ ।

    निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

    त्यस्तै, मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेशतर्फ २६० रुपैयाँ र बाहिरिने दिशामा २०० रुपैयाँ निर्धारण गरिएको छ ।

    यसैगरी, मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणले काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने सूचनामा उल्लेख छ ।

    नयाँ व्यवस्थासँगै कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीचालकले आफ्नो सवारीको वर्ग र यात्राको दिशाअनुसार तोकिएको सडक उपभोग दस्तुर बुझाउनुपर्नेछ ।

    सवारीसाधनअनुसार टोल शुल्क:

    हलुका सवारीसाधन: प्रवेश ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ

    मिनी बस तथा मिनी टिपर/ट्रक: प्रवेश ११५ रुपैयाँ, बाहिरिँदा ८० रुपैयाँ

    बस तथा सिंगल रियर एक्सल ट्रक: प्रवेश २६० रुपैयाँ, बाहिरिँदा २०० रुपैयाँ

    मल्टी एक्सल ट्रक तथा भारी उपकरण: प्रवेश ६०० रुपैयाँ, बाहिरिँदा २५० रुपैयाँ