काठमाडौँ — अन्तर्राष्ट्रिय मानवीय सहायता प्रणालीको सुधारका लागि महत्वपूर्ण मानिने विश्वव्यापी पहल ‘ग्रान्ड बार्गेन’को ग्लोबल एम्बेसडरमा नेपाली मानवीय नेतृत्वकर्ता जगन चापागाईं सर्वसम्मत चयन भएका छन् । उनको नियुक्तिसँगै अन्तर्राष्ट्रिय मानवीय सहायता तथा नीति निर्माणको क्षेत्रमा नेपालको उपस्थिति थप बलियो बनेको छ ।
स्वीट्जरल्याण्डको जेनेभामा हालै सम्पन्न ‘ग्रान्ड बार्गेन–२०२६’ वार्षिक सम्मेलनले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आइएफआरसी) का महासचिव चापागाईंलाई उक्त जिम्मेवारी दिएको हो । उनी यस पदमा एकल रूपमा चयन हुने पहिलो नेपाली बनेका छन् ।
यसअघि सन् २०२३ देखि २०२६ सम्म डा. जेमिला महमुद, म्यानुएल बेस्लर र माइकल कोहलरले सामूहिक रूपमा ग्लोबल एम्बेसडरको जिम्मेवारी सम्हालेका थिए । चापागाईंले आगामी दुई वर्ष उक्त भूमिकामा रहेर विश्वव्यापी मानवीय सहायता प्रणालीको सुधार, स्थानीय नेतृत्वको प्रवर्द्धन र स्रोतको न्यायोचित वितरणका लागि पैरवी गर्नेछन् ।
सन् २०२० मा पहिलोपटक आइएफआरसीको महासचिव बनेका चापागाईं अहिले दोस्रो कार्यकालमा कार्यरत छन् । ग्लोबल एम्बेसडरको जिम्मेवारीले उनलाई सरकार, दातृ निकाय, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा स्थानीय र राष्ट्रिय मानवीय संस्थाबीच सहकार्य विस्तार गर्ने थप अवसर प्रदान गरेको छ ।
चापागाईंले नयाँ जिम्मेवारी निष्पक्ष रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सरकार, दाता, संयुक्त राष्ट्रसंघीय निकाय, रेडक्रस तथा रेडक्रिसेन्ट र स्थानीय संस्थाबीच साझा प्रतिबद्धता तथा सहकार्यलाई सुदृढ बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन् । उनले यो भूमिका आइएफआरसीको महासचिवको जिम्मेवारीभन्दा अलग रहेर सम्पूर्ण ‘ग्रान्ड बार्गेन’ समुदायका तर्फबाट निर्वाह गर्ने स्पष्ट पारेका छन् ।
उनको कार्यकालमा स्थानीय तथा राष्ट्रिय मानवीय संस्थाका आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियासम्म पुर्याउने विषयले विशेष प्राथमिकता पाउनेछ । संकट प्रभावित समुदायको आवश्यकता र अग्रपङ्क्तिमा काम गर्ने संस्थाको अनुभवलाई नीति निर्माणमा समेट्नु पनि उनको महत्वपूर्ण जिम्मेवारी हुनेछ ।
चापागाईंले नयाँ प्रतिबद्धता थप्नुभन्दा पहिले नै गरिएका प्रतिबद्धता कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका छन् । उनका अनुसार स्थानीय समुदायका समस्या सुन्ने, ती समस्या समाधान गर्न सक्ने निर्णयकर्तासम्म पुर्याउने र प्रतिबद्धता कार्यान्वयन भए–नभएको निरन्तर अनुगमन गर्ने काम प्राथमिकतामा रहनेछ ।
उनले मानवीय सहायताको सफलतालाई बैठकमा गरिएका प्रतिबद्धताका आधारमा नभई प्रभावित मानिसको दैनिक जीवनमा आएको वास्तविक परिवर्तनका आधारमा मूल्याङ्कन गर्नुपर्ने बताएका छन् ।
के हो ‘ग्रान्ड बार्गेन’?
सन् २०१६ मा विश्व मानवीय शिखर सम्मेलनपछि सुरु गरिएको ‘ग्रान्ड बार्गेन’ विश्वव्यापी मानवीय सहायता प्रणालीलाई प्रभावकारी, पारदर्शी, जवाफदेही र स्थानीय नेतृत्वमा आधारित बनाउने पहल हो । यसको मुख्य उद्देश्य सहायता वितरणमा हुने प्रशासनिक खर्च घटाउँदै संकटबाट प्रभावित समुदायसम्म बढी स्रोत पुर्याउनु हो ।
यस पहलले दाता, संयुक्त राष्ट्रसंघीय निकाय, अन्तर्राष्ट्रिय संस्था तथा स्थानीय र राष्ट्रिय मानवीय संस्थाबीचको सहकार्य सुधार गर्दै स्रोत र निर्णय अधिकार प्रभावित समुदायसम्म प्रभावकारी रूपमा पुर्याउने लक्ष्य राखेको छ ।
दस वर्षपछि ‘ग्रान्ड बार्गेन’ नयाँ चरणमा प्रवेश गर्दैछ । सन् २०२७ जनवरीदेखि यो ‘कलेक्टिभ एक्सन प्लेटफर्म फर द ग्रान्ड बार्गेन’ (सीएपी–जीबी) का रूपमा अघि बढ्नेछ । नयाँ संरचनाले गुणस्तरीय वित्तीय सहयोग, स्थानीयकरण, समान साझेदारी, प्रभावित समुदायप्रतिको जवाफदेहिता र लैङ्गिक समानतामा जोड दिनेछ ।
चापागाईंको नियुक्तिलाई अन्तर्राष्ट्रिय मानवीय सहायता क्षेत्रमा नेपालको नेतृत्वदायी सहभागिता विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ । अब उनको प्रमुख चुनौती विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा उतार्दै स्थानीय संस्था र संकट प्रभावित समुदायले प्रत्यक्ष लाभ पाउने वातावरण निर्माण गर्नु हुनेछ ।