खोटाङ — दसैँ बिदा सकिएसँगै जिल्ला प्रशासन कार्यालय खोटाङमा सरकारी सेवा लिने सेवाग्राहीको चाप बढेको छ । दसैँ मनाउन घर आएका नागरिक चाडपर्वपछि आफ्नो कर्मथलो फर्कने तयारीसँगै आवश्यक सरकारी कागजात बनाउन सदरमुकाम पुग्न थालेपछि कार्यालयमा भीड बढेको हो ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र तथा दलित र जनजाति प्रमाणितलगायत सेवा लिन आउने सेवाग्राहीको संख्या बढेको छ । कार्यालयका अनुसार बुधबार मात्रै ८१ जनाले नयाँ नागरिकता लिएका छन् । नागरिकता लिनेमा ४९ पुरुष र ३२ महिला रहेका छन् ।
यसैगरी, ३२ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । प्रतिलिपि लिनेमा २० पुरुष र १२ महिला छन् । उक्त दिन ११ जनाले राहदानी प्राप्त गरेका छन् भने २८ जनाले राहदानीका लागि नाम दर्ता गराएका छन् ।
राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या पनि उल्लेख्य देखिएको छ । बुधबार ६३ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् भने एक जनाले नाबालक परिचयपत्र बनाएका छन् । कार्यालयबाट छ वटा सिफारिस प्रमाणित गरिएको र अन्य निकायमा आठ वटा पत्र पठाइएको छ । त्यस्तै, नागरिक एपमार्फत प्राप्त २० वटा गुनासो फर्छ्योट गरिएको कार्यालयले जनाएको छ ।
दसैँमा घर आएका नागरिक चाडपर्व सकिएपछि काम तथा अध्ययनका लागि आफ्नो कार्यक्षेत्र फर्कनुअघि आवश्यक कागजात बनाउने भएकाले प्रशासनमा सेवाग्राहीको चाप बढेको प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले बताए ।
सेवाग्राहीको भीड व्यवस्थापन गर्न तथा पालो मिचिने समस्या रोक्न कार्यालयका कतिपय फाँटमा टोकन प्रणालीसमेत लागू गरिएको छ । जिल्लाका अन्य सरकारी कार्यालयको तुलनामा जिल्ला प्रशासन कार्यालयमा अहिले सेवाग्राहीको उपस्थिति बढी देखिएको छ ।