काठमाडौँ: कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले सर्वाधिक ५० रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
सुरुवातमै ओपनर विनोद भण्डारीलाई ४ रनमा गुमाएको सुदूरपश्चिमका लागि सैफ अली जैब र ब्रान्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे । सैफ १४ र ब्रान्डन २२ रन बनाएर आउट भए ।
त्यसपछि कप्तान दीपेन्द्र र इशान पाण्डेले टोलीको इनिङ्स सम्हाले । यी दुईले चौथो विकेटका लागि ७४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै सुदूरपश्चिमलाई जितनजिक पुर्याए । इशानले ३१ बलमा ३७ रन बनाए । शेर्फन रदरफोर्ड ८ रनमा अविजित रहे ।
पोखराका लागि धनञ्जय लक्षन, महेदी हसन र शाकिब अल हसनले एक–एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए । उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्जुनले अन्तिम ओभरमा १५ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याएका थिए ।
महेदी हसनले ३२ रन बनाए । उनले कप्तान कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए । महेदी छैटौँ ओभरको पाँचौँ बलमा अनिल खरेलको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए ।
पोखराले तेस्रो ओभरको दोस्रो बलमै ओपनर दिनेश खरेललाई गुमाएको थियो । हेमन्त धामीको बलमा आउट भएका दिनेशले ७ बलमा ४ रन मात्रै बनाउन सके ।
पहिलो बलमै डीआरएसबाट जोगिएका कप्तान कुशल भुर्तेलले १७ बलमा २ चौकासहित २१ रन बनाए । उनी दशौँ ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरीको बलमा क्याच आउट भए ।
शाकिब अल हसनले १६ बलमा १४ रन बनाए भने सदिरा समरविक्रमाले ८, धनञ्जय लक्षनले ११ र किरण ठगुन्नाले १ रन बनाए । विपिन खत्री ५ रनमा अविजित रहे ।
सुदूरपश्चिमका लागि स्पिनर अनिल खरेलले सर्वाधिक ३ विकेट लिए । ३ ओभर बलिङ गरेका उनले २३ रन खर्चिए । उनले महेदी हसन, शाकिब अल हसन र सदिरा समरविक्रमालाई आउट गरे । हेमन्त धामी, स्कट कुगेलाइन र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
एनपीएलअन्तर्गत बिहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज दिउँसो साढे १२ बजे भिड्नेछन् । दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ ।