काठमाडौँः सीमा सुरक्षा तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने, सीमा अपराध नियन्त्रण गर्ने र दुवै देशका सीमावर्ती सुरक्षा निकायबीच समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच १०औँ द्विपक्षीय समन्वय बैठक सुरु भएको छ।
बैठकमा दुवै देशका सीमा सुरक्षा निकायसहित सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरू सहभागी छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन्। नेपाली टोलीमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र नापी विभागका प्रतिनिधि सहभागी छन्।
त्यसैगरी, भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, काठमाडौँस्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्चपदस्थ अधिकारीहरू सहभागी छन्। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्।
सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बैठकमा सीमाको प्रभावकारी सुरक्षा व्यवस्थापन, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, मानव तस्करी तथा लागुऔषध ओसारपसार रोकथाम, अवैध हातहतियार तथा अन्य सामग्रीको तस्करी नियन्त्रण र सीमावर्ती क्षेत्रमा शान्ति तथा सुव्यवस्था कायम गर्ने विषयमा हालसम्म भएका समन्वयात्मक प्रयासको समीक्षा गरिनेछ।
दुई दिनसम्म चल्ने बैठकमा सीमा व्यवस्थापन संयन्त्रले निर्दिष्ट गरेको मार्गदर्शनअनुसार दशगजामा भएका अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा निर्माण र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका विषयमा छलफल हुनेछ। त्यसैगरी, सीमापार प्रभाव पार्न सक्ने महामारी तथा विपद्को जोखिम न्यूनीकरण गर्न नियमित समन्वय बैठक र तत्काल सूचना आदानप्रदानको व्यवस्थालाई प्रभावकारी बनाउने विषयले पनि प्राथमिकता पाउने प्रवक्ता कार्कीले बताए।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने तथा नेपाल र भारतका दुवै सुरक्षा सङ्गठनबीच आपसी सम्बन्ध र सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल हुनेछ। यसका लागि मैत्रीपूर्ण खेलकुदलगायत आपसी समन्वय अभिवृद्धिमा केन्द्रित गतिविधि सञ्चालन गर्ने विषय पनि बैठकको कार्यसूचीमा समेटिएको छ।
बैठकमा सीमा सुरक्षालाई थप मजबुत बनाउन दुवै सङ्गठनको क्षमता अभिवृद्धि र संस्थागत सहयोग विस्तार गर्ने विषयमा पनि विचारविमर्श हुनेछ। नेपाल–भारत खुला सिमानाको प्रयोग गरी तेस्रो मुलुकका नागरिकले गर्न सक्ने अवैध आवागमनलाई कडाइका साथ नियमन गर्ने तथा सीमा व्यवस्थापनलाई थप चुस्त, प्रभावकारी र आधुनिक बनाउन उपयुक्त प्रविधिको प्रयोग गर्ने विषयमा पनि छलफल हुनेछ।
यसैगरी, विपद्को पूर्वतयारी तथा प्रतिकार्यमा संयुक्त सहकार्य प्रभावकारी बनाउने र सीमा नाकामा यात्रुलाई सहज सेवा उपलब्ध गराउन थप सहायता कक्ष स्थापना गर्ने विषयसमेत बैठकमा उठाइने प्रवक्ता कार्कीले जानकारी दिए।
सीमा क्षेत्रमा उत्पन्न हुन सक्ने समस्या तथा चुनौतीको समयमै पहिचान र समाधान गर्न नियमित सम्पर्क, आपसी विश्वास, प्रभावकारी सूचना आदानप्रदान र संस्थागत समन्वयलाई निरन्तरता दिने विषयमा पनि दुवै पक्षबीच छलफल हुनेछ।
बैठकबाट नेपाल र भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुनुका साथै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न दुवै देशका सुरक्षा निकायबीचको समन्वय तथा सहकार्य अझ प्रभावकारी हुने विश्वास गरिएको छ।