काठमाडौँः नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचारप्रसार गर्दै धार्मिक पर्यटन प्रवर्द्धन, राष्ट्रिय एकता सुदृढीकरण तथा सनातन वैदिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु भएको छ।
मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले गत आइतबार पवित्र मुक्तिनाथधामबाट रथयात्राको शुभारम्भ गरेका हुन्। उनकै सत्सङ्कल्पमा नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको आयोजनामा यात्रा सुरु गरिएको हो।
बागलुङस्थित पञ्चकोट हुँदै अघि बढेको रथयात्राले मेचीदेखि महाकालीसम्मका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेका पौराणिक तीर्थस्थलहरूको परिक्रमा गर्ने कार्यक्रम रहेको छ। राष्ट्रव्यापी रूपमा सञ्चालन हुने यो यात्रा आगामी मङ्सिर १ गतेसम्म जारी रहनेछ।
मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यका अनुसार रथयात्राको उद्देश्य धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। यस अभियानले राष्ट्रिय एकताको भावना जागृत गर्ने, सामाजिक सद्भाव र सहिष्णुता अभिवृद्धि गर्ने, सनातन संस्कृतिका मौलिक मूल्य–मान्यताको संरक्षण गर्ने तथा नेपालको गौरवशाली धार्मिक सम्पदालाई नयाँ पुस्तामाझ परिचित गराउने लक्ष्य राखेको छ।
त्यसैगरी, देशका ऐतिहासिक तीर्थस्थलहरूबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्नुका साथै आन्तरिक पर्यटन, तीर्थाटन र स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु पनि अभियानको प्रमुख उद्देश्य रहेको उनले बताए।
रथयात्राको समापन मङ्सिर १ गते नवलपुरस्थित श्रीगजेन्द्रमोक्षधाम, त्रिवेणीधाममा हुनेछ। सोही दिनदेखि उक्त स्थानमा वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यसहित अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ पनि सुरु हुने कार्यक्रम छ। मङ्सिर महिनाभर सञ्चालन हुने महायज्ञमार्फत वैदिक शिक्षाको प्रवर्द्धन र विश्वविद्यालय स्थापनाको अभियानलाई अघि बढाइने जनाइएको छ।
रथयात्राका क्रममा भगवान् श्रीमुक्तिनाथको पवित्र जल तथा प्रसाद वितरण गरिने कार्यक्रमसमेत रहेको छ। स्वामी कमलनयनाचार्यले रथयात्रा पुग्ने विभिन्न स्थानका श्रद्धालु भक्तजन, धर्मानुरागी तथा सनातन संस्कृतिप्रेमीहरूलाई भगवान्को दर्शन गर्न, पवित्र जल तथा प्रसाद ग्रहण गर्न र पुण्य अभियानमा सहभागी हुन आह्वान गरेका छन्।