काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ।
यसअघिका दुई संस्करणमा पोखरा र सुदूरपश्चिमबीच भएका दुवै खेलमा रोयल्स विजयी भएको थियो। सन् २०२४ मा पोखरालाई पाँच रनले पराजित गरेको सुदूरपश्चिमले सन् २०२५ मा १८ रनको जित निकालेको थियो।
लगातार दुई संस्करणको फाइनल खेले पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक उपाधि आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ। तर, कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको टोलीले पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटको हार बेहोरेको थियो।
त्यसैले प्रतियोगितामा पहिलो जित निकाल्दै पुनरागमन गर्ने लक्ष्यका साथ सुदूरपश्चिम मैदानमा उत्रनेछ। लगातार तेस्रोपटक फाइनल पुग्ने अभियानलाई अघि बढाउन पनि टोलीका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ।
यता, पोखरा एभेन्जर्सले यस सिजनको पहिलो खेल खेल्दैछ। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा अघिल्ला दुई संस्करणमा प्लेअफसम्म पुग्न सकेको थिएन। यसपटक सुदूरपश्चिमलाई हराउँदै सुखद सुरुआत गर्ने र प्लेअफ यात्राको सम्भावना बलियो बनाउने लक्ष्य पोखराको हुनेछ।
आजको खेलमा दुवै टोलीका नेपाली तथा विदेशी खेलाडीको प्रदर्शन निर्णायक बन्न सक्नेछ। विगतका दुई भेटमा सुदूरपश्चिमले जित निकाले पनि पहिलो खेलमा हार बेहोरेको रोयल्सलाई पोखराविरुद्ध जित निकाल्न सहज हुने छैन। उता, पोखरा भने प्रतियोगिताको पहिलो खेलमै सुदूरपश्चिममाथि जित निकाल्दै अघिल्ला संस्करणको तुलनामा सुधारिएको प्रदर्शन गर्ने प्रयासमा हुनेछ।