काठमाडौँः प्रतिकूल मौसमको सम्भावना रहेकाले मुस्ताङको उच्च हिमाली क्षेत्रमा कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय र लोमन्थाङ गाउँपालिकाले आग्रह गरेका छन्।
गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी पर्यटक तथा सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको हो।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिम रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलका अनुसार मौसम प्रतिकूल हुँदा चिसो बढ्नुका साथै सडकमा पहिरो जाने र सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना छ। त्यसैले सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको उनले जानकारी दिए।
यसैगरी, लोमन्थाङ गाउँपालिकाले पनि मौसम प्रतिकूल हुने सूचना प्राप्त भएकाले कोरला नाका तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने जनाएको छ।
गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले हिमपातका कारण सडक चिप्लो हुने, सवारी दुर्घटनाको जोखिम बढ्ने र सडक अवरुद्ध हुन सक्ने भएकाले कोरला नाकातर्फ सवारीसाधन नलैजान यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकलाई आग्रह गरेका छन्।
गाउँपालिकाले मौसम अनुकूल नभएसम्म कोरला नाकातर्फको यात्रा नगर्न तथा उक्त क्षेत्रमा सवारीसाधनको आवागमन स्थगित गर्न अनुरोध गरेको छ।
प्रतिकूल मौसमका कारण हुन सक्ने सम्भावित दुर्घटना र अन्य जोखिमबाट बच्न सम्बन्धित सबैलाई प्रशासन तथा गाउँपालिकाले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरिएको छ।