कञ्चनपुरः जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, मूल्य र उपभोग्य मिति अनिवार्य रूपमा खुलाउन निर्देशन दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले सूचना जारी गर्दै मिठाईमा प्रयोग हुने तेल तथा घिउको प्रकार, मूल्य र उपभोग गर्न मिल्ने मितिसहितका विवरण उपभोक्ताले सहजै देख्न सक्ने गरी राख्न निर्देशन दिएका हुन्।
उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाईलगायत खाद्य पदार्थमा प्रयोग गरिएका कच्चा पदार्थ र तिनको मूल्यबारे उपभोक्तालाई सुसूचित गराउन प्रशासनले व्यवसायीलाई आग्रह गरेको छ। त्यसका लागि पसलमा सबै ग्राहकले देख्ने स्थानमा आवश्यक विवरण र मूल्यसूची राख्नुपर्नेछ।
प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘सञ्चालकले आफूले उत्पादन गरेको मिठाई कुन–कुन मुख्य कच्चा पदार्थ मिसाएर बनाइएको हो, कुन तेल वा घिउ प्रयोग गरिएको हो र कुन मितिसम्म उपभोग गर्न मिल्छ भन्ने जानकारी उपभोक्ताले सजिलै देख्न सक्नेगरी राख्नुपर्नेछ।’
प्रशासनले बुधबारदेखि नै निर्देशन कार्यान्वयन गर्न आग्रह गर्दै तोकिएको विवरण नराख्ने व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
आगामी तिहार तथा छठ पर्वमा अन्य समयको तुलनामा मिठाईको खपत बढी हुने भएकाले खाद्य पदार्थको गुणस्तर र स्वच्छतामा विशेष ध्यान दिन प्रशासनले व्यवसायीलाई आग्रह गरेको छ। मिठाईमा प्रयोग हुने कच्चा पदार्थ, मूल्य र उपभोग्य मितिबारे स्पष्ट जानकारी उपलब्ध गराउँदा उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय खाद्य पदार्थ छनोट गर्न सहज हुने प्रशासनको अपेक्षा छ।