दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा २६ सयभन्दा बढी खेलाडीले भरे फारम - Chaitanya News
  • 2026-10-28
  • 17:36:01
  • बुधबार,कार्तिक १२, २०८३
  • दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा २६ सयभन्दा बढी खेलाडीले भरे फारम

    दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा २६ सयभन्दा बढी खेलाडीले भरे फारम

    धनगढीः आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशमा खेलाडी छनोटको तयारी सुरु भएको छ। प्रदेशका नौवटै जिल्लामा कात्तिक १२ देखि १८ गतेसम्म जिल्ला छनोट गर्ने तयारी गरिएको छ।

    सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रदेशका नौ जिल्लाबाट ३२ खेलका दुई हजार ६ सयभन्दा बढी खेलाडीले फारम भरेका छन्।

    प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्काले जिल्ला छनोटका लागि नौवटै जिल्लामा पत्राचार गरिएको जानकारी दिए। उनका अनुसार जिल्ला छनोट सम्पन्न भएपछि मंसिर १ गतेदेखि धनगढी र महेन्द्रनगरमा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्ने तयारी छ।

    ‘जिल्ला छनोट सकिएपछि मंसिर १ गतेदेखि धनगढी र महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश छनोट गर्ने तयारी छ,’ सदस्यसचिव खड्काले भने, ‘जिल्ला छनोटका लागि केही दिनमा प्रदेशबाट बजेट निकासा गर्छौँ।’

    सुदूरपश्चिम प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिल्ला तथा प्रदेशस्तरीय छनोट र तयारीका लागि चार करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

    राष्ट्रिय प्रतियोगितामा कुल ३२ खेल समावेश भए पनि सुदूरपश्चिम प्रदेशबाट केही खेलबाहेक अन्य सबै खेलमा खेलाडी सहभागी हुने सदस्यसचिव खड्काले बताए।

    प्रशिक्षक अभावमा खेलकुद गतिविधि प्रभावित
    सुदूरपश्चिम प्रदेशमा खेलकुद गतिविधि सञ्चालन भइरहे पनि प्रशिक्षकको अभाव रहेको सदस्यसचिव खड्काले बताए। प्रदेशका सात पहाडी जिल्लाका साथै तराईका दुई जिल्लामा समेत विभिन्न खेलका प्रशिक्षक छैनन्।

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश खेलकुद परिषद्ले राष्ट्रिय खेलकुद परिषद्सँग ३२ स्वयंसेवक प्रशिक्षक माग गरेको थियो। तर, १६ खेलका लागि १६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको सदस्यसचिव खड्काले जानकारी दिए।

    ‘स्वयंसेवक प्रशिक्षकका लागि आवेदन लिने काम बिहीबारसम्म हुन्छ,’ खड्काले भने, ‘अन्य प्रक्रियाका विषयमा माथिल्लो निकायको निर्देशनअनुसार हुनेछ।’

    प्रदेश खेलकुद परिषद्ले कात्तिक १८ गतेभित्र जिल्ला छनोट सम्पन्न गरी छनोट भएका खेलाडीको नामावली तथा विवरण पठाउन नौवटै जिल्ला खेलकुद समितिलाई पत्राचार गरेको छ।