धनगढीका १६ खेलमैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने - Chaitanya News
  • 2026-10-29
  • 10:25:34
  • बिहिबार,कार्तिक १३, २०८३
  • धनगढीका १६ खेलमैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

    धनगढीका १६ खेलमैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

    धनगढी: धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघबीच सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा ग्रासरुट फुटबल विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ।

    सम्झौतापत्रमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल र कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार उपमहानगरपालिकाका विभिन्न वडामा रहेका सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा फुटबलको आधारभूत विकासका लागि कार्यक्रम सञ्चालन गरिनेछ।

    कार्यक्रमअन्तर्गत वडा नम्बर १ को कभर्डहल खेल मैदान, वडा नम्बर २ को सूक्ष्म वर्गीकरण नजिकको खेल मैदान, वडा नम्बर ३ को प्रस्तावित नयाँ बसपार्कको खेल मैदान, वडा नम्बर ५ को यातायात नजिकको श्रीकृष्ण खेल मैदान, वडा नम्बर ६ को धनगढी पोलिटेक्निक खेल मैदान र वडा नम्बर ७ को पटेलामा रहेको खेल मैदानमा कार्यक्रम सञ्चालन गरिनेछ।

    त्यस्तै, वडा नम्बर ८ को धनगढी नमुना माध्यमिक विद्यालयको खेल मैदान, वडा नम्बर ११ को दक्षिणकाली आधारभूत विद्यालयको खेल मैदान, वडा नम्बर १२ को मनकामना युवा क्लबको खेल मैदान तथा वडा नम्बर १३ को जनता राष्ट्रिय माध्यमिक विद्यालय र नवज्योति आधारभूत विद्यालय नजिकका खेल मैदानमा पनि कार्यक्रम सञ्चालन हुनेछ।

    यसैगरी वडा नम्बर १४ को टाउन प्लानिङको खेल मैदान, वडा नम्बर १७ को पथरी पुल नजिकको मैदान र डुमौलिया खेल मैदान, वडा नम्बर १८ को प्रस्तावित स्टेडियम खेल मैदान तथा वडा नम्बर १९ को फूलबारी माध्यमिक विद्यालयको खेल मैदानलाई पनि कार्यक्रम सञ्चालन स्थलका रूपमा छनोट गरिएको सम्झौतापत्रमा उल्लेख छ।

    स्थानीय तहमा फुटबलको आधार बलियो बनाउने, विद्यालय तथा सार्वजनिक खेल मैदानलाई खेलकुद गतिविधिमा उपयोग गर्ने र बालबालिका तथा युवालाई फुटबल प्रशिक्षणको अवसर उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

    धनगढी उपमहानगरपालिकाले विगत दुई वर्षदेखि ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमले बालबालिकालाई सानै उमेरदेखि फुटबलप्रति आकर्षित गर्नुका साथै स्थानीय स्तरमै खेलाडी उत्पादन र फुटबलको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।